Techie IT
२०८३ कार्तिक २४, सोमबार

पुटिनसँग सम्झौता गर्दै ट्रम्प, अमेरिकी बजारतर्फ ३ लाख ब्यारेल रुसी डिजेल जाँदै


रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेलगत्तै मस्कोलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउन र उसको युद्धको आर्थिक स्रोत सुकाउन अमेरिकाले कठोर कदम चालेको थियो। त्यसबेला अमेरिकाले रुसी तेल तथा अन्य वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाउँदै अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (SWIFT) मा रुसको पहुँच सीमित गरेको थियो र रुसी तेल बिक्रीमा मूल्य सीमा (Price Cap) तोक्ने रणनीति अघि सारेको थियो।

तर, चार वर्षपछि अमेरिकी नीतिमा नाटकीय परिवर्तन (यू-टर्न) देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहमतिपछि ३ लाख ब्यारेल रुसी डिजेल बोकेको एउटा ट्यांकर अहिले सोझै अमेरिकी तटतर्फ अघि बढिरहेको छ।

माल्टाको झन्डा अंकित मध्यम आकारको ट्यांकर ‘एगियोई फानेन्देस’ (Agioi Fanendos) रुसी इन्धन बोकेर अमेरिकी बजारतर्फ सोझिनुलाई वासिङ्टनको मस्कोप्रतिको विदेश नीतिमा आएको ठूलो बदलावका रूपमा हेरिएको छ।

युक्रेनमा आक्रमण जारी रहेकै अवस्थामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यापारिक सम्झौता गर्ने र रुसमाथिका प्रतिबन्ध खुकुलो पार्ने इच्छा देखाएका छन्। यसले रुसलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने अमेरिका र पश्चिमी मुलुकहरूको वर्षौंदेखिको प्रयासलाई कमजोर बनाएको विश्लेषकहरूको ठहर छ।

सन् २०२२ को सुरुवातमा अमेरिकामा रुसी तेलको एक थोपा पनि प्रवेश नगराउने बलियो राजनीतिक र व्यावसायिक सहमति रहेको तत्कालीन अमेरिकी अर्थ मन्त्रालयका सहायक सचिव बेन ह्यारिस सम्झन्छन्। त्यसबेला अमेरिकी सरकार मात्र होइन, निजी क्षेत्रसमेत रुसी तेलबाट पूर्णतः टाढा रहन चाहन्थ्यो।

तर, अहिले ट्रम्पको कदमले रुसमाथि प्रतिबन्ध लगाउनुको कुनै औचित्य नरहेको र युक्रेन युद्ध अन्त्य गर्न प्रतिबन्ध प्रभावकारी माध्यम हुन नसकेको सन्देश दिएको ह्यारिसको भनाइ छ। हाल ब्रुकिङ्स इन्स्टिच्युसनका उपाध्यक्ष तथा आर्थिक अध्ययन निर्देशक रहेका ह्यारिसले ट्रम्पले रुसी आक्रमणलाई वास्तवमै समस्याका रूपमा हेरेका छन् कि छैनन् भन्नेमा समेत प्रश्न उठाएका छन्।

अमेरिकामा मध्यावधि निर्वाचनको केही साताअघि र इन्धनको मूल्य तीव्र रूपमा बढिरहेका बेला रुसी डिजेल आयात गर्ने निर्णय गरिएको हो। हाल अमेरिकामा डिजेलको मूल्य इतिहासमै पहिलोपटक प्रतिग्यालन ६ डलर नाघेको छ (जुन इरान युद्धअघि औसत ३.७६ डलर थियो)। त्यस्तै, पेट्रोलको औसत मूल्य पनि एक वर्षअघिको ३ डलरबाट बढेर ४ डलरभन्दा माथि पुगेको छ।

ट्रम्प प्रशासनले रुसी डिजेल आयातले अमेरिकी उपभोक्तालाई राहत दिने दाबी गरे पनि यसले बजारको मूल्य घटाउने सम्भावना भने न्यून छ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) का अनुसार ‘एगियोई फानेन्देस’मा रहेको ३ लाख ब्यारेल डिजेल अमेरिकी यातायात क्षेत्रको एक दिनको खपतको करिब १० प्रतिशत मात्र हो। रुसले प्रस्ताव गरेको कुल २२ लाख ब्यारेल डिजेल नै आयात गर्दा पनि त्यसले अमेरिकाको एक दिनको आवश्यकतासमेत पूरा गर्न सक्दैन।

रुससँग थप ठूला व्यापारिक सम्झौताको तयारी
यो डिजेल आयात अमेरिका र रुसबीच आगामी दिनमा हुन सक्ने थप व्यापारिक कारोबारको सुरुवात मात्र भएको अनुमान गरिएको छ। सम्भावित सम्झौताहरूमा अमेरिका-रुस संयुक्त डेटा सेन्टर परियोजनादेखि आर्कटिक क्षेत्रमा तरलीकृत प्राकृतिक ग्यास (LNG) उत्पादनका संयुक्त आयोजनासम्म समावेश छन्।

युक्रेनमा युद्धविरामसमेत नभएको संवेदनशील घडीमा यस्ता सम्झौताको तयारी हुनुले पश्चिमी प्रतिबन्ध नीति ध्वस्त भएको संकेत गर्छ। डिजेल सम्झौता नयाँ नीतिको पहिलो संकेत हुन सक्ने र यसले भविष्यमा अमेरिका-रुस सम्बन्धलाई कुन मोडमा पुर्‍याउँछ भन्नेमा कूटनीतिज्ञहरू चिन्तित छन्।

यसैबीच, रुसी तेल कम्पनी 'लुकोइल'को अन्तर्राष्ट्रिय सम्पत्ति खरिद गर्न अमेरिकी लगानीकर्ता संलग्न एक समूहले सम्झौताको अन्तिम तयारी गरिरहेको रोयटर्सले जनाएको छ।

यति मात्र होइन, ट्रम्प प्रशासनले पुटिनको निकट समूहको आर्थिक स्रोत मानिने रुसको बहुअर्ब डलरको ‘सार्वभौम सम्पत्ति कोष’ (Sovereign Wealth Fund) माथिको प्रतिबन्ध हटाउने विषयमा समेत छलफल थालेको छ। बाइडेन प्रशासनले रुसी आक्रमणलगत्तै उक्त कोषमाथि कडा प्रतिबन्ध लगाएको थियो। ट्रम्प प्रशासनका एक अधिकारीका अनुसार अमेरिका-रुस सम्बन्ध सुधार्ने र युद्ध अन्त्य गर्न सहयोग पुर्‍याउने बहानामा प्रतिबन्ध खुकुलो पार्ने प्रक्रिया अघि बढाइएको हो।

निजी क्षेत्रको असहमति
ट्रम्पको रुसी इन्धन आयात गर्ने निर्णयले अमेरिकाभित्रै तीव्र राजनीतिक र कानुनी विवाद सिर्जना गरेको छ। न्युजर्सीकी डेमोक्र्याटिक गभर्नर मिकी सेरिलले रुसी डिजेल आयात गर्नु संघीय कानुनविपरीत हुने भन्दै राज्यका बन्दरगाह तथा टर्मिनल सञ्चालकहरूलाई सचेत गराएकी छन्। यस्तो कारोबारमा संलग्न भए नागरिक तथा आपराधिक दुवै तहको कानुनी कारबाही भोग्नुपर्ने चेतावनी उनको छ। उनले ट्रम्पले अमेरिकी नागरिकको हितभन्दा पुटिनको स्वार्थ रक्षा गरिरहेको गम्भीर आरोपसमेत लगाएकी छन्।

उता, रुसबाट डिजेल बोकेर अमेरिका आउँदै गरेका अन्य दुई प्रतिबन्धित ट्यांकर भने कानुनी कारबाहीको डरले अमेरिकी खरिदकर्ताहरू पछि हटेपछि आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य भएका छन्।

कमोडिटी अनुसन्धान संस्था 'केप्लर'का निर्देशक म्याट स्मिथका अनुसार ‘एगियोई फानेन्देस’ अझै अमेरिकातर्फ नै अघि बढिरहेको भए पनि पछिल्ला दिनमा यसको गति निकै सुस्त बनेको छ। त्यसैले उक्त डिजेल अमेरिकी बन्दरगाहमा अनलोड हुने-नहुने अझै अनिश्चित छ।

ह्वाइट हाउसले ट्रम्प र पुटिनबीचको सहमतिअनुसार नै रुसी डिजेल आइरहेको र यसले मूल्य घटाउन सहयोग गर्ने दाबी दोहोर्‍याइरहेको छ। तर, ब्रुकिङ्सका ह्यारिसका अनुसार निजी क्षेत्र रुसी डिजेल खरिद गर्न अझै पर्ख र हेरको अवस्थामा छ। “रुसी डिजेलको वास्तविक खरिदकर्ता भेट्टाउनै मुस्किल छ। निजी क्षेत्रको नैतिक मापदण्ड ह्वाइट हाउसको भन्दा निकै फरक देखियो,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट