तिहारको चौथो दिन: गाईपूजा मनाइँदै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज घर–घरमा विधिपूर्वक गाईको पूजा गरी मीठा–मीठा परिकार खान दिएर गाईपूजा पर्व मनाइँदैछ।
वैदिक सनातन हिन्दू परम्परामा गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरका रूपमा लिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने भएकाले उनलाई ‘गौमाता’का रूपमा उच्च सम्मान गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा व्यावहारिक दृष्टिकोणले समेत गाईबाट प्राप्त हुने दूध, गोबर र गहुँत (मूत्र) को विशेष महत्त्व रहेको छ।
शास्त्रअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिनाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीका दिन नै गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसी तिथि सकिएर प्रतिपदा सुरु भएपछि गाईपूजा गर्ने गरिन्छ।
हिन्दू संस्कारमा श्राद्ध, हवन तथा विभिन्न धार्मिक अनुष्ठानमा गाईदान गर्ने प्राचीन परम्परा छ। तर, पछिल्लो समय गाईको सहज उपलब्धता नहुँदा सङ्कल्प गरेर नगद राख्ने (गौदान बापत रकम अर्पण गर्ने) चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।
नेपालको राष्ट्रिय जनावरका रूपमा समेत घोषित गाईको पूजाआजासँगै आज एउटा विशेष सांस्कृतिक विधि पनि पूरा गरिन्छ। साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) आज गाईको पुच्छरमा बाँधिदिने गरिन्छ। यसो गर्दा मानिसको मृत्युपश्चात् मरणोपरान्त स्वर्ग जाने क्रममा पर्ने पौराणिक ‘वैतरणी नदी’ गाईले सजिलै तारिदिने लोकविश्वास रहि आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस