विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई १५ हजार डलरसम्म विदेशी मुद्रा सटही सुविधा

नेपाल राष्ट्र बैंकले विदेशी भाषा तथा मानकीकृत परीक्षा सञ्चालन गर्ने एजेन्सीहरूलाई १५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा दिने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको एकीकृत विदेशी विनिमय निर्देशिकामा नयाँ व्यवस्था थप गर्दै TOEFL, IELTS, GRE, GMAT, SAT जस्ता अन्तर्राष्ट्रिय परीक्षाका लागि विदेशी सेवा आयात गर्ने एजेन्सीलाई यो सुविधा लागू गरेको हो।
नयाँ प्रावधान अनुसार, नेपालमा विदेशी संस्था मार्फत सञ्चालित भाषा परीक्षा वा अन्य मानकीकृत परीक्षण सेवाको शुल्क भुक्तानी गर्न सटही सुविधा दिइनेछ। प्रत्येक भुक्तानीका लागि अधिकतम १५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा प्राप्त गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यस सुविधाको लागि सम्बन्धित एजेन्सीले आवश्यक कागजातहरू बैंकमा पेस गर्नुपर्नेछ। यद्यपि, यस्तो सेवाका लागि नियामक निकायको सिफारिस अनिवार्य नपर्ने केन्द्रीय बैंकले जनाएको छ।
यो व्यवस्था लागू भएसँगै नेपालमा भाषा तथा अन्य परीक्षण सेवा सञ्चालन गर्ने एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय संस्थासँगको आर्थिक कारोबार गर्न सहज हुने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस