Techie IT
२०८२ भाद्र १, आइतबार

भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो


Representation Image

भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार, औसतमा साउनको तुलनामा भदौमा ब्याजदर घटेको देखिन्छ।

साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत थियो भने, भदौमा यो ०.११ प्रतिशत बिन्दुले घटेर ५.५७ प्रतिशतमा कायम भएको छ।

साउनको तुलनामा भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। ती बैंकहरूमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई पर्छन्।

त्यस्तै, ११ बैंकले ब्याजदर स्थिर राखेका छन्। ती हुन् : सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंक। एउटै बैंक प्रभुले भने ब्याजदर बढाएको छ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा ब्याजदर कम र लामो अवधिका लागि केही बढी हुने परम्परा बैंकहरूले निरन्तरता दिएका छन्। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर प्रायः लामो अवधिका लागि तोकिएको हुन्छ। यसमा घटबढ हुँदा बचत खातासँगै कर्जाको ब्याजदर पनि स्वतः प्रभावित हुन्छ।

यसअघि, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर ब्याजदर कम गर्न दबाब दिएको थियो। त्यसकै आधारमा साउन महिनामा पनि ब्याजदर घटाइएको हो। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ।

असार महिनामा भएको उच्च पूँजीगत खर्चले निक्षेप बढेको तर कर्जा प्रवाह सुस्त रहनु बैंकहरूलाई ब्याजदर घटाउन बाध्य हुने मुख्य कारण बनेको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट