Techie IT
२०८२ भाद्र १६, सोमबार

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ ३० देखि सञ्चालन हुने


सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशभर १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार, सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी, आटा, तेल, चिउरा, पिठो, मांसाहारी सामानलगायत खाद्यवस्तुमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट दिइनेछ। “भदौ ३० देखि सुरु हुने पसलमा उपभोक्ताले प्रत्यक्ष छुटको सुविधा पाउनेछन्,” उनले जानकारी दिए।

कम्पनीले कोशी प्रदेशका ११, मधेस प्रदेशका ३, बागमती प्रदेशका ५, गण्डकी प्रदेशका ७, लुम्बिनी प्रदेशका १५, कर्णाली प्रदेशका ४२ र सुदूरपश्चिम प्रदेशका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।

साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर सल्लाघारी, कौशलटार–काँडाघारी, इमाडोल र महाराजगञ्जसहित ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। यसबाहेक देशभरका प्रमुख सहरहरू—बिराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बागलुङ, भैरहवा, नेपालगञ्ज, दिपायल, धनगढी, महेन्द्रनगरलगायत २७ स्थानमा समेत पसल सञ्चालन हुनेछन्। साथै उपत्यकामा तीनवटा घुम्ती पसल पनि सञ्चालन गरिनेछ।

कस्तो छुट पाइनेछ?

खाद्य व्यवस्थाका पसलमा सबै किसिमका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट पाइनेछ ।

गहुँ दाना, चिनी, दाल, चना, केराउ, भटमासमा ५ रुपैयाँ छुट पाइनेछ।

चिउरा, आटा, पिठो, मैदामा ७ रुपैयाँ छुट पाइनेछ ।

जिरा, धनियाँ, चियापत्ती, जिउँदो खसी, बोका र च्याङ्ग्रामा १० रुपैयाँ छुट पाइनेछ ।

तोरी, सनफ्लावर र भटमासको तेलमा ७ रुपैयाँ छुट पाइनेछ ।

कर्णालीका रैथाने वस्तु (सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी, बासमती) मा १० रुपैयाँ छुट पाइनेछ ।

यस्तै, साल्ट ट्रेडिङका पसलमा नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दालमा ७ रुपैयाँ छुट दिइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट