Techie IT
२०८२ भाद्र २३, सोमबार

म्याग्दीको ओखरबोटमा तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु


म्याग्दी – लामो समयदेखि बन्द अवस्थामा रहेको म्याग्दीको मालिका गाउँपालिकास्थित ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण कार्य सुरु भएको छ।

खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले हाल स्थलगत अध्ययन थालेको हो। मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको उक्त तामाखानी विगतमा उत्पादनमा रहँदै आएको बताइएको छ।

भूगर्भविद् रोनित पौडेलका अनुसार प्रारम्भिक चरणमा तामाको मात्रा पहिचान गर्ने, उत्खननका क्रममा हुन सक्ने वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र न्यूनीकरणका उपाय पहिल्याउने काम भइरहेको छ। “प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि मात्र खोजतलास र सम्भाव्यता अध्ययन अघि बढ्छ, त्यसपछि उत्खनन प्रक्रियामा प्रवेश गरिनेछ,” पौडेलले बताए।

वि.सं. २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर खानीबाट तामा निकालिँदै आएको मालिका–३ का ७२ वर्षीय विसराम पटेलले स्मरण गरे। उनका अनुसार प्रविधिको अभाव र आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्थाले खानी बन्द भएको थियो। त्यतिबेला खानीमा दुई सयभन्दा बढी कामदारले काम गर्थे र दैनिक सात–आठ धार्नी तामा निकालिन्थ्यो।

खानीमा दुईवटा मुहान रहेका छन्, जसको लम्बाइ २५० देखि ५०० मिटरसम्म रहेको छ। अझै पनि सुरुङभित्र तामाका धाउ देख्न सकिने स्थानीयको भनाइ छ।

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइ सम्पन्न गरी प्रभावित बासिन्दाबाट लिखित सुझावसमेत संकलन गरिसकेको छ। प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले रोजगारीमा प्राथमिकता दिन र वातावरणीय सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

मालिका–४ (साविक ओखरबोट–८) खटेनडाँडास्थित तामाखानी त्यहाँको मुख्य खानी मानिन्छ। धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकासहित म्याग्दीका विभिन्न २१ ठाउँमा तामाखानी रहेका छन्। तर, खानी सञ्चालन हुन नसक्दा ‘खनेल’ भनिने सीपयुक्त स्थानीय जनशक्ति पुस्तान्तरण हुन नसकेको छ। परम्परागत रूपमा खानी खन्ने पेशामा संलग्न छन्त्याल समुदायको रोजगारी पनि यससँग जोडिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट