सुदूरपश्चिममा सोमबारदेखि सुपथ मूल्यका पसल सञ्चालन हुने

आगामी सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार पसलहरूबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध गराइनेछ।
कैलाली, डडेलधुरा, कञ्चनपुर, डोटी, बाजुरा, बैतडी, दार्चुला र अछामका विभिन्न बजार तथा शाखा कार्यालयहरूबाट पसल सञ्चालन गरिनेछ।
त्यस्तै, साल्ट ट्रेडिङले डडेलधुरा, कैलाली (धनगढी, टीकापुर, अत्तरिया), कञ्चनपुर (बेलौरी, महेन्द्रनगर), डोटी (दिपायल) र बैतडी (पाटन) गरी आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। साल्ट ट्रेडिङका अनुसार नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ, र तेल, चिउरा, पीठो, मैदा तथा दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिइनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस