आन्दोलनबाट क्षति भए पनि फेरी उठ्नेछौं - एनसेल

गत हप्ताको आन्दोलनका क्रममा कार्यालयहरूमा क्षति पुगे पनि एनसेलले सेवाप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकन’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा तोडफोड भई ठूलो क्षति पुगेको उल्लेख छ। भौतिक संरचनामात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवाको निरन्तरतामा पनि खतरा बढेको कम्पनीले जनाएको छ।
यस्तो अवस्थामा पनि सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले कम्पनीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराएको जानकारी दिएको छ। यस कदमले जनतालाई संकटका बेला सहज संचार पहुँच सुनिश्चित भएको कम्पनीको दाबी छ।
वक्तव्यमा एनसेलले नेपालको दूरसञ्चार यात्रामा दुई दशकदेखि खेलेको भूमिकालाई स्मरण गर्दै रोजगार सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणमा निरन्तर सक्रिय रहेको जनाएको छ। कम्पनीले भोगेका कठिनाइले आफ्नो संकल्प अझ दृढ भएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा समाज र अर्थतन्त्रमा योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
देश अन्तरिम सरकारको नयाँ यात्रातर्फ अघि बढिरहेको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राजनीतिक परिवर्तनलाई सकारात्मक रूपमा स्वागत गरेको छ। कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस