टुक्रे आयोजना कटौती गर्दा करिब एक खर्ब स्रोत जुटाउन सकिन्छ - अर्थमन्त्री डा. रामेश्वर खनाल

नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्दा करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन्।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीहरूलाई निर्देशन दिँदै आगामी ६ महिनाभित्र निर्वाचन हुने अवस्था, पुनःनिर्माण र अन्य कार्यका लागि बजेटमा रहेका आयोजना फिल्टर गरी प्राथमिकताअनुसार कटौती गरिने बताए। उनले आजै बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिएका छन्। उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकता निर्धारण गर्नेछ।
खनालले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठुलो क्षति पुगेको उल्लेख गर्दै चाँडै भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए। ‘कालो लागेको भित्तालाई रंगरोगन गरौं। हामी विनाशबाट उठ्यौँ भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिन जरुरी छ। धेरै सार्वजनिक सम्पत्तिको बिमा छैन,’ उनले भने। उनले निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ति हुने र नयाँ सवारी खरिद नगरी पुराना सवारी बेचेर पुनःनिर्माण सुरु गर्नुपर्ने पनि उल्लेख गरे।
युवा प्रदर्शनकर्ताले आफ्नो ज्यानको आहुति दिएर मुलुकको प्रमुख समस्या प्रस्तुत गरेको स्मरण गर्दै उनले भने, ‘यो जिम्मेवारी युवा आफैंले लिन सक्थे, तर उहाँहरूले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ। गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ।’
खनालले कर्मचारीहरूलाई विगतका गल्ती बिर्सिन र सार्वजनिक स्रोतको दुरुपयोग नगर्न आग्रह गरे। ‘सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु,’ उनले भने।
उनले निजी क्षेत्रसँग विश्वासमा आधारित सहकार्य आवश्यक भएको उल्लेख गर्दै भने, ‘राजस्व असुलीमा क्रूर दबाब दिनु हुँदैन। सेवामा सुधार गरे राजस्व आफैं बढ्छ।’
त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘जेनजी प्रदर्शनका कारण ६८ वटा बैंक शाखा र ६९ वटा एटिएममा क्षति पुगेको छ। यो समय मानिसहरूको मनोबल बढाउने हो। जे घटना घट्यो, त्यो ज्यादै दुःखद छ। राष्ट्र बैंक सहयोग गर्न तयार छ,’ उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस