६ महिनापछि गौतमबुद्ध विमानस्थलबाट थाइ एयर एसियाको उडान सुरु गर्दै
छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियालाई हप्तामा दुईपटक उडानको अनुमति दिइसकिएको छ। उनले भने, “थाइ एयरले अक्टोबर २६ देखि हप्ताको दुई उडान गर्ने गरी अनुमति पाइसकेको छ। जजिरा लगायतका अन्य कम्पनीहरू पनि पाइपलाइनमा छन्। जजिराको हकमा कन्ट्री डाइरेक्टर र विमानस्थलबीच समन्वय भइरहेको छ।”
जजिरा एयरवेजले तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको छ। गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले उडान गरेका थिए। एक महिनासम्म त्यहाँबाट सातामा करिब २० वटा उडान भएका थिए।
गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडान अघि पाँच महिनामा २०० भन्दा बढी उडानमार्फत झन्डै ७ हजार यात्रु आवतजावत गरेका थिए। त्यसयता केही चार्टर उडान मात्र भएका छन्।
२०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। उद्घाटनपछि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गरेका थिए।
तर नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटल तथा पर्यटन व्यवसायीहरू लगातार आन्दोलित हुँदै आएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यका अनुसार भैरहवा र आसपासका क्षेत्रमा विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले करिब एक खर्ब रुपैयाँ लगानी गरेको छ।
“अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरू बैंक ऋणको किस्ता र ब्याज तिर्न नसकी संकटमा परेका छन्,” आचार्यले भने। “कतिपयले तारे होटल बिक्री गरिसकेका छन् भने कतिपयको निर्माणाधीन होटल बीचमै रोकिएको छ।”
विमानस्थलमा एक वर्षको अवधिमा ५५६ अन्तर्राष्ट्रिय उडान अवतरण भएका छन्। पछिल्ला पाँच वर्षमा कुल १,०५७ उडान–अवतरण भएका छन्। यस अवधिमा २९ हजार ६२१ यात्रु यहाँ ओर्लिएका र ३१ हजार ६४१ यात्रु विदेश गएका छन्। कुल ६१ हजार २५४ यात्रुले विमानस्थल प्रयोग गरेका छन्।
चालु आर्थिक वर्षमा हालसम्म १० वटा उडान अवतरण भएका छन्, ती सबै चार्टर उडान हुन्। आर्थिक वर्ष २०८१/८२ मा विभिन्न एयरलाइन्सहरूले २७८ अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेका थिए। ती उडानबाट १२ हजार ८३० जना भैरहवा आएका र ११ हजार १२८ जना बाहिरिएका विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५६ उडानमार्फत ६,३१८ यात्रुले आवागमन गरेका थिए। २०७९/८० मा ३१५ उडानबाट २८,९९८ जना यात्रुले ओहोरदोहोर गरे भने २०८०/८१ मा १२० उडानमार्फत १,९७६ यात्रु आवतजावत गरेका छन्।
भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न सरकारले विभिन्न छुटका सुविधा प्रदान गरेको छ। अन्तर्राष्ट्रिय यात्रुका लागि टिकटमा लाग्ने तीन हजार रुपैयाँको सेवा शुल्कमा छुट दिइएको छ। साथै पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट, नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट र इन्धनमा सय डलरसम्म छुटको व्यवस्था गरिएको छ। तर यस्ता प्रोत्साहन हुँदाहुँदै पनि विदेशी विमान कम्पनीहरू आकर्षित हुन सकेका छैनन्।
व्यवसायीहरूले विमानस्थलमा आवश्यक सरकारी कार्यालयहरूको अभाव, हवाई टिकट बिक्रीमा काठमाडौंकेन्द्रित एकाधिकार र समन्वयको कमीका कारण अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको गुनासो गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस