आईएमएफको अनुमानः चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ५.२ प्रतिशत हुने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ५.२ प्रतिशत हुने अनुमान गरेको छ।
आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा यसअघि गरिएको प्रक्षेपणलाई सामान्य रूपमा घटाउँदै नयाँ अनुमान प्रस्तुत गरेको हो। गत अप्रिलमा प्रकाशित प्रतिवेदनमा नेपालमा सन् २०२६ (चालु आर्थिक वर्ष) मा ५.५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो।
चालु आर्थिक वर्षमा जेन्जी आन्दोलन लगायतका आन्तरिक कारणहरूले अर्थतन्त्रमा असर पर्ने भएकाले अपेक्षाकृत उच्च वृद्धि सम्भावना कम भएको प्रतिवेदनमा उल्लेख छ। केही दिनअघि विश्व बैंकले पनि नेपालका लागि आर्थिक वृद्धिको अनुमान व्यापक रूपमा घटाएको थियो। तर, आईएमएफले भने विगतको तुलनामा सानो मात्र कमी गरेको हो।
आईएमएफका अनुसार सन् २०२५ को अप्रिलमा संयुक्त राज्य अमेरिकाले लागू गरेको व्यापक ट्यारिफ नीति र त्यसको प्रभावका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ। प्रतिवेदनका अनुसार यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहनेछ।
यो दर गत वर्षको तुलनामा ०.२ प्रतिशत बिन्दुले कम भए पनि अप्रिलमा गरिएको अनुमानभन्दा केही सुधार भएको आईएमएफले जनाएको छ। अप्रिलमा उसले यो वर्ष विश्व अर्थतन्त्र २.८ प्रतिशतले मात्र वृद्धि हुने अनुमान गरेको थियो।
आईएमएफका आर्थिक सल्लाहकार तथा अनुसन्धान विभाग प्रमुख पियरे–ओलिभर गोरिन्चासका अनुसार अमेरिकाले पछिल्लो समयमा धेरै मुलुकसँग व्यापार सम्झौता गरेको र अन्य देशहरूले जवाफी रूपमा भन्सार नबढाएकाले अनिश्चितता केही घटेको छ। त्यसैले विश्व आर्थिक वृद्धिको प्रक्षेपणमा सामान्य सुधार गरिएको उनको भनाइ छ।
तर, अमेरिकाले तोकेको भन्सार महसुल दर अझै उच्च रहेको, व्यापार तनाव कायम रहेको र स्थायी व्यापार सम्झौताहरूको कुनै सुनिश्चितता नभएकाले विश्व अर्थतन्त्र पूर्णरूपमा स्थिर हुन अझै समय लाग्ने आईएमएफले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस