जेनजी आन्दोलनपछि पाँचतारे होटल हायात अस्थायी रूपमा बन्दहुनुको कारण यस्तो छ..
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं बौद्धस्थित पाँचतारे होटल हायात रेजेन्सी अस्थायी रूपमा बन्द गरिएको छ। होटल व्यवस्थापनले शुक्रबार जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म होटलका सम्पूर्ण श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन अनुरोध गरिएको छ।
हायातका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले हस्ताक्षर गरेको सूचनामा होटलको मर्मत र पुनर्निर्माणका क्रममा जोखिम र सुरक्षा संवेदनशीलता बढेकाले पूर्णरूपमा बन्द गर्नुपरेको उल्लेख गरिएको छ।
होटल बन्दबारे जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बिहानै चासो व्यक्त गरेकी थिइन् । उनको आग्रहमा अर्थमन्त्री रामेश्वर खनालले हायात होटलका सञ्चालक र व्यवस्थापन टिमसँग छलफल गरेका थिए । छलफलमा अर्थमन्त्री खनालले होटल बन्द नगराउन आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री खनालले देशको पर्यटन र प्रतिष्ठासँग जोडिएका यस्ता व्यवसाय धरापमा पार्न नदिने गरी सरकारले काम अघि बढाउँछ भनेर आश्वासन समेत होटलका व्यवस्थापकलाई दिएपनि सञ्चालकहरु भने सकारात्मक देखिएनन् ।
गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आक्रमणकारी समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड र लुटपाट गरेको थियो। नजिकै रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी भएको केही समयमै आक्रमणकारीहरू हायाततर्फ पुगेका थिए।
होटल व्यवस्थापनका अनुसार, उनीहरूले पर्खाल नाघेर होटल परिसरमा प्रवेश गरी विशेषगरी क्यासिनो क्षेत्रमा तोडफोड गरेका थिए।
घटनाका दृश्य देखिने भिडियो फुटेजहरू व्यवस्थापनले सुरक्षित राखेको जनाएको छ।
तर, आक्रमणमा संलग्न व्यक्तिहरू पक्राउ नपरेको र कानुनी कारबाही अघि नबढेको कारण व्यवस्थापनले होटल सञ्चालनमा जोखिम महसुस गरेको छ।
होटलका एक कर्मचारीका अनुसार, “आक्रमणपछि विदेशी तथा आन्तरिक पाहुनाका धेरै बुकिङ रद्द भए, नयाँ बुकिङ पनि आएन।”
उनले थपे, “मजदुर संगठनको दबाब, राजनीतिक अनिश्चितता र सुरक्षाको अभावले व्यवस्थापन असुरक्षित महसुस गरिरहेको छ।”
व्यवसायिक घाटा बढ्दै जाँदा होटल सञ्चालनको खर्च उठाउन नसक्ने अवस्था आएपछि अस्थायी रूपमा सेवा बन्द गर्ने निर्णय गरिएको हो। होटल व्यवस्थापन स्रोतका अनुसार, सरकार गठन भएको एक महिनाभित्रै क्षतिग्रस्त होटलहरूको पुनर्निर्माण र राहतका लागि कुनै “रिभाइभल प्लान” नआएपछि अन्ततः हायात बन्द गर्न बाध्य भएको हो।
एक व्यवसायीले भने, “सरकारले व्यवसायीलाई आत्मबल दिने कार्यक्रम ल्याउने अपेक्षा थियो, तर त्यो भएन। घाटामा होटल चलाउनु भन्दा अस्थायी रूपमा बन्द गर्नु बुद्धिमानी ठान्यौं।”
होटल सम्बन्धित स्रोतका अनुसार हायातको पुनर्निर्माणका लागि डिजाइन र योजना तयार गर्ने काम सुरु भइसकेको छ।
विशेषगरी क्यासिनोमा ठूलो क्षति पुगेको र त्यहाँ प्रयोग हुने सामग्रीहरू विदेशबाट ल्याउनुपर्ने भएकाले समय लाग्ने जनाइएको छ।
“इन्स्योरेन्स रकम आउन ढिलो छ, बैंक ऋण प्रक्रिया पनि चाडपर्वका कारण रोकिएको छ,” एक सञ्चालक सदस्यले भने। त्यसैले हालका लागि होटल परिसरमा रिनोभेसन कार्य भइरहेको र त्यसै कारण श्रमिकलाई उपस्थित नहुन भनिएको स्पष्ट गरिएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले हायातजस्ता प्रतिष्ठित होटल बन्द हुँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे गम्भीर चासो व्यक्त गरेकी छन्।
अर्थमन्त्री खनालले पनि व्यवसायीलाई नआत्तिन आग्रह गर्दै भने “सरकार साथमा छ। यस्ता प्रतिष्ठित व्यवसायलाई पुनःस्थापित गर्न आवश्यक सहयोग प्रदान गरिनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस