तिहारपछिको पहिलो दिन सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
काठमाडौं । तिहारको लामो बिदापछि आइतबार खुलेको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । दिनको अन्तिम समयमा सुधारिएको बजार परिसूचक नेप्से ५.१९ अंकले बढेर २५०७.२७ विन्दुमा पुगेको हो ।
बजार खुलेको केही समयमै (११:२३ बजे) नेप्से २४७० अंकसम्म झरेको थियो, जुन दिनभरिकै न्यून विन्दु रह्यो । तर, साढे २ बजेपछि बजारले वृद्धिको लय समातेको थियो ।
बजार बढे पनि कारोबार रकम भने न्यून देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आइतबार कुल ५५ लाख ९६ हजार कित्ता सेयर २ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भयो । यो तिहारअघिको अन्तिम कारोबार दिन (जुन दिन २ अर्ब ७९ करोडको कारोबार भएको थियो) भन्दा कम हो ।
यस दिन कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्यो भने १४६ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबारमा आएका उपसमूहमध्ये 'अन्य' समूह सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढ्यो । यस समूहमा रहेको नेपाल पुनर्बीमा कम्पनीको मूल्य ७.१० प्रतिशतले बढेपछि समूहगत सूचकमा उच्च वृद्धि देखिएको हो । त्यस्तै, जीवन बीमा ०.६१%, उत्पादन तथा प्रशोधन ०.०२%, निर्जीवन बीमा ०.०८% र व्यापार ०.८१% ले बढे ।
तर, बैंकिङ ०.३५%, विकास बैंक ०.२९%, फाइनान्स ०.७२%, होटल तथा पर्यटन ०.५७%, जलविद्युत् ०.३३%, लघुवित्त ०.२३% र लगानी ०.३४% ले घटेका छन् ।
टप गेनर, लुजर र टर्नओभर
आइतबार एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै १०% ले बढेको छ । सेयरतर्फ भने समता घरेलु लघुवित्तको मूल्य सर्वाधिक ८.८९% ले बढेको छ । अन्य धेरै बढ्नेमा हिमालयन पावर पार्टनर (७.६३%), नेपाल पुनर्बीमा (७.१०%), महिला लघुवित्त (६.०५%) र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स (५.७०%) रहेका थिए ।
यता, होटल बन्दको सूचना निकालेको तारागाउँ रिजेन्सी (ह्यात होटल्स) को मूल्य सबैभन्दा धेरै ७.१६% ले घटेको छ । यसबाहेक भगवती हाइड्रोपावर (७.१३%), एसियन हाइड्रोपावर (५.१६%) र उन्नति सहकार्य लघुवित्त (४.७२%) को मूल्य पनि खस्कियको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यसको एक्लै ३२ करोड रुपैयाँको कारोबार भयो । धेरै कारोबार हुने अन्यमा सिद्धार्थ बैंक डिबेन्चर ८९, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टिलरी रहे ।



तपाईको प्रतिक्रिया दिनुहोस