जेनजी आन्दोलनमा घाइते र मृतकका परिवारलाई १२ करोड ८० लाख राहत रकम निकासा
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारका नाममा अर्थ मन्त्रालयले हालसम्म १२ करोड ८० लाख रुपैयाँ राहत रकम निकासा गरेको छ।
मन्त्रालयका अनुसार घाइते २ हजार ४२९ जनालाई तत्काल भैपरी खर्चका रूपमा प्रतिव्यक्ति २० हजारका दरले ४ करोड ८५ लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ।
त्यस्तै मृतकका परिवारलाई १५ लाखका दरले सहायता, काजकिरिया, खाना र यातायात खर्चका लागि सहयोग प्रदान गरिएको छ। अहिलेसम्म ५३ परिवारले यस्तो सहायता पाएका छन्। यस शीर्षकमा मन्त्रालयले कुल ७ करोड ९५ लाख रुपैयाँ निकासा गरेको जनाएको छ।
यससँगै आन्दोलनका क्रममा क्षति पुगेका सुरक्षा निकायका सवारी साधन खरिदका लागि पनि मन्त्रालयले थप बजेट उपलब्ध गराएको छ। नेपाल प्रहरीका लागि १ सय थान पिकअप र ६ थान कैदी बाहन खरिद गर्न ४५ करोड ३० लाख रुपैयाँ, र सशस्त्र प्रहरी बल नेपालका लागि २० पिकअप, २० दंगा नियन्त्रक बाहक, २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यू भ्यान र ५ ट्रक खरिद गर्न २३ करोड ५ लाख रुपैयाँ स्रोत सहमति दिइएको छ।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा सुरक्षाकर्मीका सवारी साधनमा व्यापक क्षति पुगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस