‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही होस् — चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
शनिबार (कात्तिक २२) काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा बोल्दै ढकालले दण्डहीनता बढ्दै गए देशमा अराजकता फैलिने चेतावनी दिए। उनले भने, “तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही नगरेसम्म दण्डहीनता मौलाउँछ। सुरक्षित वातावरणबिनाको अर्थतन्त्र चल्दैन।”
ढकालले विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरूलाई सुरक्षित रूपमा काम गर्ने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नाफा कमाउनु अपराध नभएको स्पष्ट पार्दै भने, “नाफा आर्जन गर्नु नै अपराधजस्तो देखिनु दुःखद छ। निजी क्षेत्रले देशमा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो योगदान दिएको छ, तर अहिले त्यसै क्षेत्रमाथि आक्रमण भइरहेको छ।”
उनका अनुसार, निजी क्षेत्रलाई असुरक्षित महसुस गराउने गतिविधिले लगानी माहोलमा नकारात्मक असर पार्ने भएकाले राज्यले दृढ कदम चाल्नुपर्ने समय आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस