Techie IT
२०८२ कार्तिक २७, बिहीबार

जेन–जी आन्दोलनका कारण नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंकको प्रक्षेपण


गत भदौको जेन–जी आन्दोलन र त्यसपछि देखिएको राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकको अनुमान अनुसार, नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट २०२६ मा २.१ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। तर त्यसपछिका दुई आवमा पुनर्निर्माण र सुधारका कामले वृद्धिदर ४.७ प्रतिशतसम्म पुग्न सक्ने देखिएको छ।

बिहीबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार, राजनीतिक अस्थिरताले सेवा क्षेत्रलाई सबैभन्दा बढी प्रभावित गर्ने अनुमान छ। विश्व बैंकले भनेको छ कि यो प्रक्षेपण अझै अनिश्चित छ।

प्रत्येक राजनीतिक परिवर्तनको सफलता र दिगो आर्थिक व्यवस्थापनले लगानीकर्तालाई प्रोत्साहित गर्न सके आर्थिक सुधारमा गति आउने विश्वास गरिएको छ। तर निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्ने सम्भावना पनि छ।

नेपाल सरकारले व्यावसायिक विश्वास पुनर्स्थापना र पुनरुत्थानलाई गति दिन एकीकृत व्यावसायिक पुनरुत्थान योजना सार्वजनिक गरेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् ।

यस योजना अन्तर्गत अनुदान, कर छुट र सञ्चालन सहयोगलगायत सुविधा व्यवस्थापन गरिएको छ। उनका अनुसार, पूर्वाधार पुनर्निर्माण र चुनावी तयारीका लागि सार्वजनिक स्रोतहरू प्राथमिकतामा राखेर क्षतिग्रस्त सार्वजनिक तथा निजी सम्पत्ति पुनर्निर्माण गर्न पुनर्निमाण कोष खडा गरिएको छ।

प्रतिवेदनले बलियो अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रका गतिविधि पुनर्स्थापना र दीगो आर्थिक वृद्धिका लागि सार्वजनिक लगानी व्यवस्थापनलाई सुदृढ पार्न आवश्यक ठहर गरेको छ।

आर्थिक वर्ष २०२४ मा संघीय, प्रादेशिक र स्थानीय सरकारको कुल पूँजीगत खर्च जीडीपीको ७.९ प्रतिशत मात्र रहेको थियो। तर नेपालको पूर्वाधार आवश्यकता पूरा गर्न जीडीपीको १०–१५ प्रतिशत लगानी आवश्यक छ।

विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले भने, “आर्थिक वृद्धिदर सुधार, रोजगारी सिर्जना र सम्पूर्ण नेपालीको समृद्धिका लागि सार्वजनिक लगानी बढाउनु आवश्यक छ। यसका लागि परियोजना निर्माण र बजेटिङ सुदृढीकरण, जग्गा अधिग्रहण र रुख कटान प्रक्रिया सुव्यवस्थित गर्ने, रकम व्यवस्थापन प्रभावकारी बनाउने र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संशोधन जस्ता कदम प्राथमिकतामा राख्नुपर्छ।”

विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुई पटक सार्वजनिक गर्दै आएको छ र लामो समयदेखि यसले नेपालको आर्थिक विकासको गहिरो अध्ययन तथा विश्लेषण गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट