Techie IT
२०८२ मंसिर ३, बुधबार

मुख्य राजमार्गमा ‘ट्रली बस’ चलाउने तयारी, २२ अर्बको परियोजना अघि बढ्दै


ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालका मुख्य सडकहरूमा विद्युतीय ट्रली बस सञ्चालनका लागि एसियाली विकास बैंक (एडिबी) सँग सहयोगको प्रस्ताव गरेका छन्।

मन्त्रालयमा बुधबार एडिबी नेपाल आवासीय नियोगका प्रमुख आर्नोड कुश्वा (Arnaud Cauchois) सहितको उच्चस्तरीय टोलीसँग भएको ‘दिगो सहरी विद्युतीय परियोजना’ सम्बन्धी छलफलका क्रममा घिसिङले यस्तो आग्रह गरेका हुन्। उनले काठमाडौँ उपत्यकाको चक्रपथ र हाल विस्तारका क्रममा रहेका देशका प्रमुख राजमार्गहरूमा ट्रली बसको सम्भावना अध्ययन गर्न प्राविधिक तथा आर्थिक सहयोगको माग गरे।

‘एक लेन ट्रली बसका लागि’ मुलुकभित्र उत्पादित विद्युत्को खपत बढाउन र यातायातलाई वातावरणमैत्री बनाउन ट्रली बस प्रभावकारी हुने घिसिङको तर्क छ। उनले भने, “काठमाडौँ–धुलिखेल, पोखरा–मुग्लिन, बुटवल–नारायणघाट, बुटवल–भैरहवा र विराटनगर–धरानजस्ता फराकिला सडक विस्तार भइरहेका छन्। यी सडकको एक लेन ट्रली बसका लागि मात्र (Dedicated Lane) प्रयोग गर्न सकिने सम्भावना छ।”

विगतमा चीन सरकारको सहयोगमा त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म चलेको ट्रली बस २०६६ सालमा बन्द भएको थियो। अहिले आधुनिक प्रविधिसहित यसलाई ब्युँताउने योजना अघि सारिएको हो।

२२ अर्बमा २५० विद्युतीय बस गुडाइने छलफलमा १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ५६ करोड रुपैयाँ) लागतको ‘दिगो सहरी विद्युतीय परियोजना’ बारे पनि समीक्षा भयो। यो परियोजना अन्तर्गत काठमाडौँ, पोखरा र लुम्बिनी क्षेत्रमा २५० वटा ठुला विद्युतीय बस सञ्चालन गर्ने तयारी छ।

कुल लागतमध्ये एडिबीले १० करोड डलर सहुलियतपूर्ण ऋण र ४ करोड डलर अनुदान (शून्य ब्याजदर) दिनेछ भने २ करोड डलर नेपाल सरकारले बेहोर्नेछ। परियोजना कार्यान्वयनका लागि नगर विकास कोष र पूर्वाधार विकास बैंकमार्फत स्थानीय तहहरूलाई सहभागी गराइनेछ। विशेष गरी गण्डकी प्रदेशमा ‘सार्वजनिक यातायात प्राधिकरण’ स्थापना गरेर पोखरामा यो परियोजना लागु गर्ने प्रस्ताव गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट