माघ १ देखि नगद कारोबारको सीमा पाँच लाखमा सीमित
आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँमा सीमित हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था लागू गर्न लागेको हो।
निर्देशनअनुसार पाँच लाख रुपैयाँभन्दा बढीको कुनै पनि रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। साथै, कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा काटिएका चेकको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ।
तर, प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरू, जलविद्युत्, सडक, सञ्चारलगायत क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानीमा भने समस्या नपर्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
यस्तै, विभिन्न आयोजनाका लागि आवश्यक मालसामान आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी, बिगो, धरौटी तथा जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्पमार्फत पेन्सन वितरण गर्न समेत कुनै अवरोध नहुने बताइएको छ।
सरकारले वितरण गर्ने राहत, अनुदान तथा सहायता रकम, विप्रेषण कम्पनी वा एजेन्टमार्फत विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि यो व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकको भनाइ छ।
बचत तथा ऋण सहकारी संस्थाले भने आफ्ना सदस्यहरूसँगको दैनिक कारोबारमा नगद भुक्तानी गर्न सक्नेछन्। सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा पाँच लाखमा सीमित गर्ने निर्णय गरिसकेको थियो। अर्थ मन्त्रालयले सोसम्बन्धी व्यवस्था बिहीबार राजपत्रमा प्रकाशित गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस