Techie IT
२०८२ माघ २२, बिहीबार

१५ अर्ब नपाए स्वास्थ्य बीमा धराशायी हुने स्वास्थ्यमन्त्रीको कडा चेतावनी


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको गम्भीर आर्थिक सङ्कट समाधानका लागि तत्काल बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन्।

आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा मन्त्री गौतमले तत्काल १५ अर्ब रुपैयाँ व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आबद्ध अस्पतालहरू बन्द हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरिन्।

विद्यमान समस्या छलफल र सुझावले मात्र समाधान नहुने बताउँदै उनले स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई आग्रह गरिन्।
“शून्य बजेटमा २४ अर्बको दायित्व बोकेर स्वास्थ्य बीमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ?” मन्त्री गौतमले प्रश्न गरिन्, “कि स्पष्ट रूपमा स्वास्थ्य बीमा बन्द गर्न निर्देशन दिनुपर्‍यो, कि आवश्यक रकम तत्काल जुटाइदिनुपर्‍यो।”

स्वास्थ्यमन्त्री गौतमले अर्थमन्त्री र अर्थसचिवलाई प्रत्यक्ष सम्बोधन गर्दै साउनमा प्रस्तुत बजेट वक्तव्यअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अतिविपन्न तथा अल्पसङ्ख्यक समुदायलाई स्वास्थ्य बीमा सुविधा निरन्तरता दिने सरकारको नीतिमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले नीतिगत सुधारका लागि स्वास्थ्य मन्त्रालयलाई सुझाव दिँदै आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालय तयार रहेको स्पष्ट पारे।

“तत्काल व्यवस्थापनका लागि स्वास्थ्य बीमामा जाने रकम पुनःप्राथमिकीकरण गरेर स्वास्थ्य मन्त्रालयले प्रस्ताव ल्याउनुपर्छ। रकमान्तर र स्रोतान्तर गर्ने विषयमा अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्नेछ,” सचिव उपाध्यायले भने, “अन्य मन्त्रालयका चालु खर्चहरूको विवरण हेरेर आवश्यकताअनुसार स्वास्थ्य मन्त्रालयमा बजेट सार्न पनि तयार छौँ।”

तर सुधारलाई प्राथमिक एजेन्डा नबनाई स्रोतको खोजी मात्र गरेमा स्वास्थ्य बीमा कार्यक्रम दिगो रूपमा सञ्चालन हुन नसक्ने चेतावनी पनि उनले दिए।

“स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममा देखिएका समस्या समाधान गर्ने पहिलो जिम्मेवारी मन्त्रालयकै हो। सुधारबिनाको बजेट व्यवस्थापन दीर्घकालीन समाधान हुँदैन,” सचिव उपाध्यायले जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट