यो साताभरी नेप्सेको ओरालो यात्रा, नेप्से पुनर्संरचनाका लागि यस्ता छन् १० बुँदे सुझाव
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। गत साता २७१४.०५ विन्दुमा बन्द भएको नेप्से यस साता ०.२० प्रतिशत अर्थात ५.३५ अंक घटेर २७०८.७० विन्दुमा झरेको हो।
पाँच कारोबार दिनमध्ये दुई दिन बजार बढेको थियो भने तीन दिन घटेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २.२० अंक, फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। गत साता दैनिक औसत १४ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा यस साता दैनिक औसत ९ अर्ब १ करोड रुपैयाँमा सीमित भयो। यो अघिल्लो साताको तुलनामा ३५.९८ प्रतिशत कम हो। त्यस्तै, दैनिक औसत कारोबार संख्या र शेयर संख्या दुवै २९.३९ प्रतिशतले घटेका छन्।यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ।
१३ उपसमूहमध्ये छ वटा समूह बढेका छन् भने सात वटा घटेका छन्। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढेको हो । वित्त उपसमूह सबैभन्दा बढी १.०३ प्रतिशत घट्यो भने अंकका आधारमा लघुवित्त समूह ४२.९९ अंकले ओरालो लागेको छ।
यस साता सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस शेयर गरी कुल ४५ लाख १० हजार ८१०.४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्। कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ३४.३६ प्रतिशत बढ्यो। नारायणी डेभलपमेन्ट बैंक, सुपर माई हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। कालिका पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशतले घटेको छ।
फ्लोरसिट विश्लेषणअनुसार मेगा म्युचुअल फण्ड–१, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कालिञ्चोक दर्शन ‘मोस्ट पपुलर बाइ’ सूचीमा परेका छन् भने मिथिला लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स र नेपाल हाइड्रो डेभलपर्स ‘मोस्ट पपुलर सेल’ सूचीमा रहेका छन्।
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अध्ययन समितिले पूँजी वृद्धि गर्दै सरकारी स्वामित्व क्रमशः घटाउन र विदेशी रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ। प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले मन्त्रिपरिषद्लाई प्रतिवेदन बुझाएको हो।
मुख्य सुझावहरू:
१, नेप्सेको क्षमता वृद्धि गर्न र आधुनिक सेवा सुविधाहरु विस्तार गर्न चुक्ता पूँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउनु पर्ने ।
२, स्वामित्व परिर्वत र रणनीतिक साझेदारः नेप्सेमा प्राविधिक र व्यवस्थापकीय दक्षता ल्याउन १५ देखि २५ प्रतिशत स्वामित्व रहने गरी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्टक एक्सचेन्जसँग रणनीतिक साझेदारी गर्नुपर्ने ।
३, सरकारी लगानीको विनिवेशः सरकारी स्वामित्व भएका संस्थानका कमीकजोरी हटाउन र व्यावसायिकता बढाउन नेप्सेमा रहेको सरकारी लगानीलाई क्रमशः विनिवेश गर्दै जानुपर्ने ।
४, सञ्चालक समितिको पुनर्संरचनाः सञ्चालक समितिमा सरकारी कार्मचारीहरुको बाहुल्यता हटाई स्वतन्त्र र विज्ञ सञ्चालकहरुको बाहुल्यता हुने गरी संरचनामा परिवर्तन गर्नुपर्ने ।
५, आधुनिक प्रविधिको प्रयोगः नेप्सेको हालको प्रणालीलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको आधुनिक कारोबार प्रणाली (इनट्रा–डे ट्रेडिङ, अक्सन मार्केट) जस्ता सुविधा र स्वचालित निगरानी प्रणाली लागु गर्नुपर्ने ।
६, लगानी उपकरणहरुमा विविधिकरणः लगानीकर्ताहरुलाई जोखिम व्यवस्थापनको अवसर दिन ईटीएफ जस्ता नयाँ उपकरणहरु र एसएमई तथा स्टाटप प्लेटफर्म सञ्चालनमा ल्याउनु पर्ने ।
७, पूर्वाधार र जोखिम व्यवस्थापनः दोस्रो बजारको जोखिम न्यूनीकरणका लागि सेन्ट्रल काउन्टरपार्टी (सीसीपी)को व्यवस्था गर्नुपर्ने र नेप्सेको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पनि पुँजी वृद्धि तथा स्वामित्व संरचनामा सुधार गर्नुपर्ने ।
८, संस्थागत सुशासनः नेप्सेलाई आइओएससीओका सिद्धान्त अनुरुप बनाउँदै संस्थागत सुशासन सुदृढ गर्न आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने ।
९, दक्ष जनशक्ति व्यवस्थापन: संगठनको नयाँ संरचना अनुसार डाटा साइन्स र डाटा एनालिस्ट जस्ता विशिष्टीकृत जनशक्ति भर्ना गर्न र कार्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन ओएण्डएम सर्वेक्षण गर्नुपर्ने ।
१०, अन्तर्राष्ट्रिय सहकार्यः नेप्सेलाई विश्वका अन्य स्टक एक्सचेन्जहरुसँग प्रतिस्पर्धी बनाउन वर्ल्ड फेडेरेसन अफ एक्सचेन्जको पूर्ण सदस्यता लिनुपर्ने र अन्य वैदेशिक एक्सचेन्जहरुको सूचना आदानप्रदानमा जोड दिनुपर्ने ।



तपाईको प्रतिक्रिया दिनुहोस