Techie IT
२०८२ चैत्र १४, शनिबार

राष्ट्रिय सभागृहमा राउटेका भाँडा बिक्रीमा, फोटो खिच्नेको भीडले व्यापार ओझेलमा


“यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो। यसमा जे खानेकुरा पनि राख्न सक्नुहुन्छ। असाध्यै राम्रो छ, मूल्य एक हजार रुपैयाँ मात्र,” सुदूरपश्चिमका दीपक राउटेले भने।

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलन मा राउटे समुदायले आफूले बनाएका काठका भाँडाहरू बिक्रीका लागि राखेका छन्। तर उनीहरूको अपेक्षाअनुसार बिक्री हुन नसक्दा किनमेलभन्दा उनीहरूसँगै बसेर फोटो खिच्नेहरूको भीड बढी देखिएको छ।

सम्मेलन अवलोकन गर्न आएका आगन्तुकहरूले ‘तपाईं कहाँको राउटे ?’, ‘तपाईंको नाम के हो ?’, ‘लगाउने लुगा केबाट बनेको हो ?’ जस्ता प्रश्न गर्दै जिज्ञासा पोखिरहेका थिए।

सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेले करिब ७० वटा कोशी बिक्रीका लागि ल्याएको दीपकले बताए। उनी यसअघि पनि काठमाडौं आएका थिए। सुदूरपश्चिममा भने भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो साटासाट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए। तर काठमाडौंमा अन्न बोकेर घर फर्कन कठिन हुने भएकाले यहाँ नगदमै मूल्य पाउने आशा राखेको दीपकको भनाइ छ।

राउटे परम्पराअनुसार पैसा छुन नहुने मान्यता रहेको उल्लेख गर्दै उनले भने, “सहरमा भने रुपैयाँ नलिई सम्भव नहुने रहेछ। अब पैसा न छोए कसरी बाँचिन्छ ?”

सहरी वातावरणले आफ्नो समुदायलाई अलि आत्तिने गरेको अनुभव सुनाउँदै दीपकले भीडभाड र कोलाहलसँग घुलमिल गर्न कठिन हुने बताए। “सहरका मान्छे धेरै बोल्छन्। हामीलाई झर्को लाग्छ,” उनले अनुभव सुनाए।

सम्मेलनमा राउटे समुदायसहित विभिन्न आदिवासी जनजातिको कला, संस्कृति, रहनसहन, खानपान र जीवनशैली झल्किने प्रदर्शनी राखिएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट