ट्रम्पको युद्ध अन्त्य गर्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० अमेरिकी डलरमा झरेको छ। यस्तै अमेरिकामा कारोबार हुने डब्लुटिआई (WTI) कच्चा तेलको मूल्य पनि करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्ने संकेत गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको बीबीसीले जनाएको छ।
ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्दै युद्ध छिट्टै अन्त्य हुने अपेक्षा व्यक्त गरेका थिए। तर, त्यसको केही समयपछि नै एक साताभित्र युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य (Strait of Hormuz) हुँदै हुने तेल ढुवानीमा अवरोध सिर्जना गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत यस्तो चेतावनी दिएका हुन्।
ट्रम्पले लेखेका छन्, ‘यदि इरानले स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीमा अवरोध सिर्जना गर्छ भने अमेरिकाले अहिलेसम्म गरेको आक्रमणभन्दा २० गुणा बढी शक्तिशाली हमला गर्नेछ।’
बीबीसीका अनुसार विश्वभर ढुवानी हुने कुल तेलको झण्डै २० प्रतिशत यही समुद्री मार्ग हुँदै जाने गर्दछ। इजरायल–इरान तनावका कारण पछिल्ला दिनमा यस समुद्री मार्गमा आवागमन घटेको छ, जसले विश्व बजारमा तेलको मूल्यमा उतार–चढाव ल्याएको छ।
ट्रम्पले थप चेतावनी दिँदै भनेका छन्, ‘हामी इरानका त्यस्ता लक्ष्यहरूलाई निशाना बनाउनेछौं, जसलाई सजिलै नष्ट गर्न सकियोस्। त्यसपछि इरानलाई फेरि एक देशका रूपमा उभिन लगभग असम्भव हुनेछ।’
यद्यपि उनले अन्त्यमा यस्तो अवस्था नआओस् भन्ने आफूले आशा र प्रार्थना गरिरहेको पनि बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस