व्यापार घाटा
निर्यात बढे पनि व्यापार घाटा बढेको बढ्यै, ९ महिनामा घाटा १२ खर्ब नाघ्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापारमा केही सुधारका संकेत देखिएका छन्। भन्सार विभाग ले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।
यस अवधिमा निर्यातको वृद्धिदर आयातको तुलनामा करिब ५ प्रतिशतले बढी देखिनु सकारात्मक पक्ष हो। साउनदेखि चैत मसान्तसम्म निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँमा सीमित थियो।
तर, निर्यातमा सुधार देखिए पनि आयात उच्च रहेकाले व्यापार घाटा अझै ठूलो चुनौतीकै रूपमा कायम छ। ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यसमा पेट्रोलियम पदार्थ र खाद्यान्नको हिस्सा प्रमुख छ। तथ्यांकअनुसार २ खर्ब ८६ अर्ब ५४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ।
त्यसैगरी, सवारी साधनतर्फ विद्युतीय सवारी (EV) र तिनका पार्टपूर्जाको आयात ८३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। इभी आयातले दीर्घकालमा इन्धनमा निर्भरता घटाउने सम्भावना देखिए पनि हालका लागि यसले आयातको ठूलो हिस्सा ओगटेको छ। सवारी साधनको आयातबाट मात्रै ६४ अर्ब २७ करोड ५८ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ।
आयात र निर्यात दुवै बढेपछि ९ महिनाको व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.०४ प्रतिशतले बढी हो। प्रमुख व्यापारिक नाकामध्ये वीरगञ्ज भन्सार अझै अग्रस्थानमा रहेको छ, जहाँबाट कुल आयातको ४६.५६ प्रतिशत र निर्यातको ३५.६८ प्रतिशत कारोबार भएको छ।
समग्रमा, आयात १३.८२ प्रतिशतले बढ्दा निर्यात १८.४६ प्रतिशतले बढ्नुले केही सकारात्मक संकेत देखाए पनि आयात–निर्यात अनुपात ६.६९ रहनुले व्यापार असन्तुलन अझै गम्भीर अवस्थामा रहेको स्पष्ट देखाउँछ ।



तपाईको प्रतिक्रिया दिनुहोस