ईभी आयातमा ब्रेक, पेट्रोल गाडीमा बूम, नेपालको ऊर्जा नीति उल्टो दिशामा
नेपालमा पछिल्लो समय अत्यन्त आकर्षक बन्दै गएको विद्युतीय सवारीसाधन (ईभी) को आयात चालू आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ईभी कारको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको देखिएको हो।
भन्सार विभागका अनुसार गत वर्षको चैत मसान्तसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालू वर्षमा घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ। समीक्षा अवधिमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन् भने यसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
क्षमताका आधारमा हेर्दा ५१ देखि १०० किलोवाटका गाडी सबैभन्दा बढी आयात भएका छन्, जसको संख्या ४ हजार ८३ युनिट छ। त्यसपछि ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५७४ युनिट र २०१ किलोवाटभन्दा माथिका ८ युनिट ईभी आयात भएका छन्।
यता, विद्युतीय गाडीको आयात घट्दै जाँदा पेट्रोलबाट चल्ने सवारी साधनको आयात भने उल्लेख्य रूपमा बढेको छ। नौ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो। गत वर्ष चैतसम्म २ हजार ७४२ युनिट मात्र पेट्रोल कार भित्रिएका थिए।
बजारमा इन्धनबाट चल्ने गाडीको माग एकाएक बढेसँगै आयातमा यस्तो उछाल आएको देखिन्छ। तर, एकातिर इन्धन संकटको जोखिम बढ्दै जानु र अर्कोतिर विद्युतीय सवारीको सट्टा पेट्रोल गाडीको प्रयोग विस्तार हुनु अर्थतन्त्र र ऊर्जा सुरक्षाका दृष्टिले नयाँ चुनौतीको रूपमा देखा परेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस