Techie IT
२०८३ वैशाख ११, शुक्रबार

सुधनको बैंकिङ विवरण चुहिएको हल्ला गर्नेलाई कानुनी कारबाही गर्ने नबिल बैंकको चेतावनी


नबिल बैंकले आफ्ना ग्राहकको गोप्य सूचना र बैंकिङ कारोबार विवरण सार्वजनिक गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। सामाजिक सञ्जालमा फैलिएको प्रचारप्रसारप्रति गम्भीर आपत्ति जनाउँदै बैंकले त्यस्ता दाबीहरू आधारहीन, प्रमाणविहीन र भ्रामक रहेको स्पष्ट पारेको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा केही दिनयता फैलाइएका सूचनाहरू सत्य नभएको उल्लेख गर्दै आफ्नो संस्थागत छवि बिगार्ने नियोजित दुष्प्रचार भएको दाबी गरेको छ। विशेष गरी कान्तिपुर दैनिकमा २०८३ वैशाख ९ गते प्रकाशित गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारसम्बन्धी समाचारपछि बैंकमाथि प्रश्न उठाइएको थियो।

नबिल बैंकका अनुसार उक्त समाचारमै विवरण अनुसन्धानरत निकायबाट प्राप्त भएको स्रोत उल्लेख गरिएको छ। त्यस अवस्थामा बैंकलाई मात्र लक्षित गरी आरोप लगाउनु अनुचित र भ्रामक भएको उसको भनाइ छ।

बैंकले कुनै पनि ग्राहकको गोप्य विवरण ग्राहक स्वयं वा कानुनी प्रक्रिया पूरा गरेर आएका अनुसन्धान निकायबाहेक अन्य कसैलाई उपलब्ध नगराउने स्पष्ट पारेको छ। साथै, कोर बैंकिङ प्रणालीमार्फत कसले, कहिले र कुन प्रयोजनका लागि विवरण हेरेको हो भन्ने अभिलेख सुरक्षित रहने व्यवस्था रहेको पनि जनाएको छ।

चार दशकभन्दा लामो अनुभव रहेको बैंकले प्रचलित कानुन र बैंकिङ नैतिकताको पूर्ण पालना गर्दै आएको दाबी गर्दै यस्ता भ्रामक प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ लगायतका कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी दिएको छ।

बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट