टोकला चियाको आईपीओ आउँदै: अर्बौंको कारोबार गर्ने चिया निगम अब पब्लिक सम्पत्ति बन्दै
नेपालको चिया उत्पादन क्षेत्रकै अग्रणी संस्था 'नेपाल चिया विकास निगम' (टोकला चिया) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। निगमले आईपीओ जारी गर्नका लागि आवश्यक 'इस्युअर रेटिङ' समेत सम्पन्न गरिसकेको छ। निगमले पछिल्लो समय आफ्नो व्यावसायिक वृद्धिलाई निरन्तरता दिइरहेको छ।
गत आर्थिक वर्षमा मात्रै निगमले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको चिया बिक्री गरेको छ। विगतका वर्षहरूको तथ्यांक हेर्दा पनि निगमको कारोबार स्थिर र उत्साहजनक देखिन्छ ।सन् २०२४ मा ९७ करोड ३० लाख रुपैयाँ बराबरको चिया बिक्री गरेको थियो भने सन् २०२३: १ अर्ब १ करोड १० लाख रुपैयाँ बराबरको चिया बिक्री गरेको पाइन्छ ।
सन् १९७४ मा पब्लिक कम्पनीको रूपमा दर्ता भएको यस निगमको ६५ प्रतिशत स्वामित्व सन् २००० देखि त्रिवेणी ग्रुप (संघाई परिवार) को हातमा छ। बाँकी स्वामित्व नेपाल सरकारको छ, जसमा कृषि, अर्थ, उद्योग मन्त्रालय र राष्ट्रिय योजना आयोगको समान ७/७ प्रतिशत हिस्सा रहेको छ। निगमले हाल ७ वटा क्षेत्रबाट चिया संकलन र प्रशोधन गर्दै आएको छ।
निगमले आईपीओमार्फत संकलन गर्ने रकमलाई चिया बगान क्षेत्रको विस्तार गर्न र एड्भेन्चर पार्कतर्फको पुँजीगत खर्च व्यवस्थापन गर्ने लगानी गर्ने योजना बनाएको छ ।
आईपीओका लागि गरिएको रेटिङमा निगमले 'इक्रा एनपी ए प्लस' (ICRA-NP A+) रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीसँग वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको र लगानीमा न्यून 'क्रेडिट जोखिम' रहेको पुष्टि गर्छ।
नेपालको चिया उद्योगको आम्दानीको मुख्य स्रोत निर्यात नै हो। निगमले उत्पादन गर्ने सीटीसी, अर्थोडक्स र ग्रीन टीको माग स्वदेशका साथै विदेशमा समेत उच्च छ। विशेषगरी ८० प्रतिशत प्याकेज्ड चिया आन्तरिक बजारमा खपत हुन्छ भने थोक (अनब्रान्डेड) चियाको ९८ देखि ९९ प्रतिशत हिस्सा निर्यात हुने गरेको छ। सरकारको निर्यातमुखी नीतिका कारण पनि निगमको भविष्य उज्ज्वल देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस