Techie IT
२०८३ वैशाख ३०, बुधबार

धुर्मुस–सुन्तलीमाथि सहकारीको गम्भीर आरोप: ऋण नतिरी विदेशमा मोजमस्ती गरेको दाबी


चर्चित कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) माथि जेष्ट बचत तथा ऋण सहकारी संस्थाले करिब ७० लाख रुपैयाँ ऋण नतिरेर गैरजिम्मेवार बनेको गम्भीर आरोप लगाएको छ। सहकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनीहरू र उनका नातेदारमाथि ठगीको आशङ्का समेत व्यक्त गरेको छ।

सहकारीका अनुसार चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा धुर्मुस–सुन्तली फाउन्डेसन आर्थिक सङ्कटमा परेपछि यो ऋण लिइएको थियो। फाउन्डेसनका सदस्य एवं सीतारामका सालो कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि निकालिएको उक्त कर्जा रङ्गशालामा सङ्कलन हुने सहयोग रकमबाट चुक्ता गर्ने सर्त थियो। फाउन्डेसनको चेक बाउन्स हुने र कालोसूचीमा पर्ने जोखिम टार्नका लागि संस्थाले मानवीय नाताले ऋण प्रवाह गरेको दाबी गरेको छ।

विदेशमा 'सुखद जीवन', नेपालमा ऋणको भारी
सहकारीले जारी गरेको विज्ञप्तिमा ऋण लिने कृष्ण घिमिरे हाल बेलायतमा रहेको र ऋण तिर्न आग्रह गर्दा गैरजिम्मेवार जवाफ दिने गरेको उल्लेख छ। "ऋण माग्दा भिनाजु (सीताराम) सँग कुरा गर्नुस् वा महानगरले तिर्छ भन्दै पन्छिने गरिएको छ," सहकारीले भनेको छ। यता सीताराम र कुन्जना भने अमेरिकामा घर नै किनेर सुखद जीवन बिताइरहेको तस्बिरहरू सार्वजनिक भइरहेको तर ऋण तिर्न भने चासो नदिएको सहकारीको आरोप छ।

"तपाईँहरूको कारण हामीले सर्वसाधारण सदस्यको बचत ३ वर्षदेखि फिर्ता गर्न सकेका छैनौँ," सहकारीले धुर्मुस-सुन्तलीलाई लक्षित गर्दै प्रश्न गरेको छ, "जनताको पसिनाको कमाइ नतिरी विदेशमा मोजमस्ती गर्नु अन्याय होइन?" सहकारीले हालसम्मको साँवा र ब्याज गरी करिब ७० लाख रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ।

लामो समयसम्म ताकेता गर्दा पनि बेवास्ता गरिएपछि सहकारीले अब कानुनी प्रक्रिया सुरु गरिसकेको जनाएको छ। "अहिलेको सरकार कडा छ, हामी ऋण असुलीका लागि अन्तिम हदसम्म जानेछौँ," विज्ञप्तिमा भनिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट