व्यवसायी पक्राउ गर्ने सूची छैन, हल्लाको पछि नलाग्न अर्थमन्त्री वाग्लेको आग्रह
सन् २०१४/१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालको अहिलेको अवस्थासँग मिल्दोजुल्दो थिए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले धरपकड गर्ने तयारी गरिरहेको भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन् ।
शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले व्यवसायीलाई पक्राउ गर्ने वा थुन्ने कुनै सूची नबनाएको स्पष्ट पारेका हुन् । उनले भने, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईंहरू हल्लाको पछि नलाग्नुस्, तपाईंहरू हाम्रो साझेदार हो ।”
अर्थमन्त्री वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्रको महत्वपूर्ण साझेदारी रहने बताए ।
उनले सरकारका पाँच प्रमुख प्राथमिकताबारे पनि स्पष्ट पार्दै पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार रहेको जानकारी दिए ।
देशको अर्थतन्त्र अहिले “जहाज मोड्ने अवस्थामा” पुगेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे । भारतको आर्थिक प्रगतिको उदाहरण प्रस्तुत गर्दै उनले राजनीतिक स्थायित्व र इमानदार नेतृत्व भए नेपालले पनि ठूलो आर्थिक फड्को मार्न सक्ने बताएका छन् ।
“सन् २०१४/१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालको अहिलेको अवस्थासँग मिल्दोजुल्दो थिए । तर पछिल्ला १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ । अब नेपाल पनि त्यही बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ,” उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस