Techie IT
२०८३ जेष्ठ १६, शनिबार

रोयल इन्फिल्डद्वारा इतिहासकै शक्तिशाली ‘बुलेट ६५०’ सार्वजनिक, भारतीय बजारमा बिक्री सुरु


औटोमोबाइल क्षेत्रमा निकै प्रतीक्षा गरिएको रोयल इन्फिल्डको शक्तिशाली मोटरसाइकल ‘बुलेट ६५०’ भारतीय बजारमा औपचारिक रूपमा बिक्री सुरु भएको छ। कम्पनीले यस नयाँ मोडलको सुरुवाती मूल्य ३ लाख ६५ हजार भारतीय रुपैयाँ (भारु) एक्स–शोरूम निर्धारण गरेको छ। यो मूल्य रोयल इन्फिल्डकै ‘क्लासिक ६५०’ को माथिल्लो संस्करण (टप-एन्ड क्रोम भेरियन्ट) भन्दा करिब १४ हजार भारुले कम हो।

अन्तर्राष्ट्रिय मञ्च इटालीको मिलानमा पहिलो पटक प्रदर्शन गरिएको यो मोटरसाइकललाई केही समयअघि भारतको गोवामा आयोजित ‘मोटोभर्स २०२५’ फेस्टिभलमा डेब्यु गराइएको थियो। रोयल इन्फिल्डको उत्पादन शृङ्खलामा बुलेट ६५० लाई ‘इन्टरसेप्टर ६५०’ र ‘क्लासिक ६५०’ को बीचमा विस्थापित गरिएको कम्पनीले जनाएको छ।

इन्जिन क्षमता
बुलेट ६५० मा ६४८ सीसीको एयर-आयल कुल्ड, प्यारालल–ट्विन इन्जिन जडान गरिएको छ, जुन रोयल इन्फिल्डका अन्य स्थापित ६५० सीसी मोडलहरूमा समेत प्रयोग हुँदै आएको छ। यस इन्जिनले ७,२५० आरपीएममा ४७ बीएचपी पावर र ५,१५० आरपीएममा ५२ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ। बाइकमा ६–स्पीड कन्स्ट्यान्ट मेस गियरबक्स र वेट मल्टी-प्लेट क्लच समावेश गरिएको छ, जसले चालकलाई सहज गियर परिवर्तनको अनुभव प्रदान गर्दछ।

सुरक्षा र नियन्त्रणलाई प्राथमिकता दिँदै यो मोटरसाइकलको प्राविधिक पक्षलाई सुदृढ बनाइएको छ । परम्परागत लुक्सका लागि अगाडि १९ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वीलसँगै ट्युब टायर प्रयोग गरिएको छ। द्रुत गतिको सन्तुलनका लागि अगाडि ३२० एमएम र पछाडि ३०० एमएमको डिस्क ब्रेक जडान गरिएको छ, जसमा ‘डुअल-च्यानल एबीएस’ (ABS) प्रविधि उपलब्ध छ। अगाडि ४३ एमएमको टेलिस्कोपिक फोर्क र पछाडि ट्वीन शक एब्जर्भर रहेका छन्। १४.८ लिटर इन्धन क्षमता रहेको यस बाइकको कुल तौल २४३ केजी रहेको छ।

रेट्रो डिजाइन र आधुनिक विशेषताहरू
स्टिल ट्युबुलर स्पाइन फ्रेममा आधारित यस बाइकमा रोयल इन्फिल्डको परम्परागत ‘क्लासिक रेट्रो लुक’ लाई निरन्तरता दिइएको छ। यसमा आकर्षक ‘टाइगर–आई’ पाइलट ल्याम्पसहितको गोलाकार एलईडी हेडलाइट, टियर–ड्रप आकारको इन्धन ट्याङ्की र हातले कोरिएका आकर्षक पिनस्ट्राइपहरू रहेका छन्। क्रोम ह्यान्डलबार, सिंगल-पिस सिट र स्क्वायर-अफ रियर फेन्डर यसका प्रमुख डिजाइन विशेषता हुन्। यो बाइक ‘ब्याटलशिप ब्लु’ र ‘क्यानन ब्ल्याक’ गरी दुई आकर्षक रङमा उपलब्ध गराइएको छ।

त्यस्तै, चालकको सुविधाका लागि बाइकमा डिजिटल–एनालग स्पिडोमिटर राखिएको छ, जसले इन्धन स्तर, ट्रिप मिटर, गियर पोजिसन र सर्भिस रिमाइन्डरको जानकारी दिन्छ। आधुनिक प्रविधिका रूपमा यसमा टर्न-बाई-टर्न नेभिगेसन, युएसबी टाइप-सी चार्जिङ पोर्ट र आवश्यकता अनुसार मिलाउन मिल्ने (एडजस्टेबल) ब्रेक तथा क्लच लिभरहरू समेत समावेश छन्।

बुलेट सिरिजकै इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र ठूलो इन्जिन क्षमताको मोटरसाइकल हो। आकर्षक मूल्य र क्लासिक लुक्सका कारण यस मोडलले बुलेटका पुराना पारखी तथा प्रिमियम बाइक खोज्ने नयाँ पुस्ताका ग्राहकहरूलाई आकर्षित गर्ने र बजारमा बलियो पकड जमाउने अटो विश्लेषकहरूको अनुमान छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट