कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई १० लाखसम्म जरिवाना हुने
नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी बजारमा कृत्रिम इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने भएको छ।
निगमले 'पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५' संशोधन गर्दै यस्तो कसुर गर्ने व्यवसायीलाई रू. ३ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने कडा कानुनी व्यवस्था गरेको हो।
मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीले मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो। अत्यावश्यक वस्तुको आपूर्तिमाथि खेलबाड गर्ने व्यवसायीलाई कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै कानुनी मार्ग प्रशस्त गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको थियो।
मन्त्रीको निर्देशनलगत्तै बसेको निगम सञ्चालक समितिको बैठकले विनियमावलीको दफा २९(घ)(१) मा “बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने” बुँदा थप गर्ने निर्णय गरेको हो।
यस्तो छ सजायको वर्गीकरण:
पहिलो पटक कसुर गरेमा: रू. ३ लाख जरिवाना र ५ दिनसम्म इन्धन आपूर्ति रोक्का।
दोस्रो पटक कसुर गरेमा: रू. ६ लाख जरिवाना र १० दिनसम्म इन्धन आपूर्ति रोक्का।
तेस्रो पटक वा सोभन्दा बढी गरेमा: रू. १० लाख जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का।
निगमका अनुसार यो नयाँ व्यवस्था लागू भएसँगै अब उचित कारणबिना पम्प बन्द गरी उपभोक्तालाई सास्ती दिने नाफाखोर व्यवसायीलाई कानुनको दायरामा ल्याउन स्पष्ट आधार तयार भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस