Techie IT
२०८३ भाद्र २६, शुक्रबार

नयाँ मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी


नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको मस्यौदा तयार पारेसँगै नीति सार्वजनिक गर्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइएको हो।

मौद्रिक नीतिलाई अन्तिम रूप दिन राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। व्यवस्थापन समितिबाट पारित भएलगत्तै आजै सञ्चालक समितिको बैठक बोलाइनेछ। सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै वा ढिलोमा भोलि बिहानसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ। गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले पनि आजै मौद्रिक नीति ल्याउन दबाब परेको हो।

राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठले पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको पुष्टि गरिन्। यद्यपि, सञ्चालक समितिको बैठकबाट मस्यौदा पास भएपछि मात्रै सार्वजनिक हुने आधिकारिक समय निश्चित हुने उनको भनाइ छ।

संरचनामै परिवर्तन, लचिलो नीतिको अपेक्षा
यसपटक राष्ट्र बैंकले मौद्रिक नीतिको परम्परागत संरचनामा ठूलो परिवर्तन गर्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिने नियामकीय व्यवस्थाहरू (Regulatory Provisions) लाई यसपटक मुख्य मौद्रिक नीतिमा समावेश नगरिने भएको छ। त्यस्ता नियामकीय व्यवस्थाहरू नियमित परिपत्र (Circulars) मार्फत नै ल्याउन सकिने भएकाले मौद्रिक नीतिलाई विशुद्ध आर्थिक तथा मौद्रिक सुचकांकमा मात्र केन्द्रित गर्न लागिएको हो।

सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति (महँगी) कायम गर्ने लक्ष्य राखेको छ। सरकारको सोही लक्ष्यलाई सघाउने गरी केन्द्रीय बैंकले यसपटक तुलनात्मक रूपमा 'लचिलो' मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बुझिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट