आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको छः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक प्रभाव परिरहेको बताएका हुन् । उनले आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । “हामी आन्तरिक सुधारमा केन्द्रीत भएर लागिरहेका छौँ । बजेट कार्यान्वयनमा सुधार ल्याउने गरी छलफल भइरहेको छ । अझै केही महिना बाँकी रहेकाले यसमा ध्यान दिनुपर्ने आवश्यकता छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा थप सुधार आउने गरी काम गर्छौं”, उनले भने ।
मुख्यमन्त्री कँडेलले हाल योजना बैङ्कमा आधारित रहेर योजना छनोट भइरहेको जानकारी दिएका छन् । उनले भने, “जसरी अहिले हामीले काम गरिरहेका छौँ, त्यसले आगामी बजेटमा सुधार गर्नेछ । विविध समस्याका बाबजुद सकारात्मक सन्देश दिनेगरी काम गरिरहेका छौँ । नकारात्मक कुराबाट बँच्नका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ ।”
तपाईको प्रतिक्रिया दिनुहोस