Techie IT
२०८२ असोज २७, सोमबार

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति पुन पनि अनुसन्धानमा तानिए


विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूमाथि समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका छन्। उनलाई चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

रोल्पाको राङ्सी घर भएका पुनसमेत यस प्रकरणमा संलग्न भएको आशंका भएपछि उनीमाथि पनि अनुसन्धान थालिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्र पुनले शक्तिको दुरुपयोग गर्दै हुम्लाको बासिन्दा भएको नक्कली कागजात बनाएर गृह मन्त्रालयबाट सीमा पार गर्न मिल्ने परिचयपत्र बनाएका थिए। त्यसपछि उनी हुम्ला हुँदै चीनको ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो। उक्त सुनको भुक्तानीबाफतको रकम चिनियाँ पक्षलाई नदिएपछि घटना बाहिरिएको बताइन्छ।

पूर्व उपराष्ट्रपति पुनका स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिकामा रहेको पारिवारिक स्रोतले जनाएको छ। पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता देखिएको छ। सुन तस्करी जाँचबुझ आयोगले दीपेश संलग्न भएको ठहर गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश हाजिरी जमानीमा छुटेका थिए। हाल उनी भारतमा रहेको जानकारी प्रहरीले दिएको छ।

त्यसैगरी पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा कार्यरत जीवनकुमार गुरुङ २०८० साल फागुनमा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि धरौटीमा रिहा भएका थिए।

पुनकी आफन्त अमला रोका पनि यस प्रकरणमा संलग्न रहेको बताइएको छ। ठमेलस्थित ‘होटल भियना’ सञ्चालक राकालाई गत असारमा दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।

पूर्व उपराष्ट्रपति पुनका छोराहरू, आफन्त र सचिवालयका सदस्यहरू सुन तस्करीमा मुछिएकाले तथा पुनको चिनियाँ समूहसँग शंकास्पद सम्बन्ध रहेको ठहर गर्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट