सिंहदरबारमा एसएलआर लुटेर कक गर्ने राजु परियार पक्राउ, पहिले नै ज्यान मार्ने उद्योगसहित ८ मुद्दाका अभियुक्त
परियार लाइसेन्स बनाइदिन्छु भन्दै रकम उठाउने बिचौलियाको काममा संलग्न थिए

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–१३ कुसुन्तीका ३६ वर्षीय सम्राट भनेर चिनिने राजु परियारलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले बोकेको एसएलआर राइफल लुटेर सिंहदरबार क्षेत्रमै ताक्दै हिँड्ने परियारको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका थिए। प्रहरीले लामो खोजीपछि उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरमा बुझाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार परियारले आन्दोलनमा अराजक गतिविधि गरेका थिए। शारीरिक रूपमा बलियो देखिने सम्राट राजु परियारलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि उनले उल्टै प्रतिरोध गरेका थिए। मंगलबार साँझ पक्राउ परेपछि प्रहरीले उनलाई प्रारम्भिक सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा परियारले आफूले आन्दोलनका क्रममा बोकेको हतियार नेपाली सेनालाई बुझाएको दाबी गरेका थिए। उनले ‘मैले त्यो हतियार नेपाली सेनालाई बुझाएको हुँ’ भनेर बताएका प्रहरी स्रोतले जनाएको छ।
तर, प्रहरीका अनुसार उनको उक्त दाबी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन। बुझाउँदाको भिडियो रहेको दाबी गरे पनि मोबाइल जाँच्दा त्यस्तो प्रमाण फेला परेन।
प्रहरी अभिलेखमा परियारमाथि ज्यान मार्ने उद्योगसहित आठवटा मुद्दा दर्ता भएको पाइएको छ। प्रारम्भिक अनुसन्धानले उनी जेनजी आन्दोलनको सक्रिय सहभागी नभई त्यसको अवसरमा उच्छृंखल गतिविधि र तोडफोडमा संलग्न भएको देखाएको छ।
प्रहरीका अनुसार ३६ वर्षीय परियारले प्रयोग गरेको एसएलआर हतियार सर्वोच्च अदालत परिसरभित्र रहेको प्रहरी कार्यालयबाट लुटेको बताएका छन्।
प्रहरी अभिलेखअनुसार परियारविरुद्ध ज्यान मार्ने उद्योग, ठगी, बैंकिङ कसुर र अभद्र व्यवहारसहित आठवटा मुद्दा दर्ता भएका छन्।
२०६४ माघ २० गते काठमाडौँमा, २०७० असोज १४ गते ललितपुरमा र २०७१ वैशाख १९ गते स्वयम्भूबाट क्रमशः ज्यान मार्ने उद्योग र ठगीका मुद्दा दर्ता भएका थिए।
त्यसैगरी, २०७५ पुस १३ गते नयाँ बानेश्वर वृत्तबाट रवि तामाङको जाहेरीमा ठगी र अभद्र व्यवहारका मुद्दा चलेका थिए। २०७९ पुस १७ गते महाराजगञ्ज वृत्तबाट राजकुमार खड्गीको जाहेरीमा बैंकिङ कसुर दर्ता भएको थियो।
प्रहरीका अनुसार परियार लाइसेन्स बनाइदिन्छु भन्दै रकम उठाउने बिचौलियाको काममा संलग्न थिए। हाल सबैजसो प्रहरी कार्यालयका अभिलेख नष्ट भएकाले उनका पुराना मुद्दा फर्स्योट भएका वा अझै चलिरहेका छन् भन्ने विषयमा प्रहरीले थप अध्ययन गरिरहेको छ।
प्रहरी अधिकारीहरूका अनुसार यस्ता घटनामा जेनजी आन्दोलनका नाममा आपराधिक पृष्ठभूमिका व्यक्तिहरू संलग्न हुनसक्ने देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस