देशभरका अदालत तोडफोडमा संलग्नमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गर्दै सर्वोच्च अदालत
सर्वोच्च अदालतले देशभरका अदालतहरूमा भएको तोडफोड र क्षतिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेको छ।
गत आइतबार बसेको न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) ले सो निर्णय गरेको हो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार जाहेरी लेख्ने कार्य अहिले जारी छ।
‘जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुन्छ होला,’ प्रवक्ता कोइरालाले भने, ‘हाल कसैको नाम किटानी गर्न नसकिएको भए पनि प्रहरीले अनुसन्धानमार्फत संलग्न व्यक्ति पत्ता लगाई कानूनी कारबाही गरोस् भन्ने हाम्रो अपेक्षा हो।’
फुल कोर्टको आइतबारको बैठकले सर्वोच्चसहित देशभरका अदालतमा आगजनी र क्षति पुर्याउनेहरूमाथि कानूनी उपचारका लागि पहल गर्नुपर्ने निर्णय गरेको थियो। जाहेरी दर्ता गर्ने जिम्मा न्यायाधीशले होइन, सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरूले लिनेछन्। सम्भवत: मुख्य रजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश हुनेछ।
जेन–जी आन्दोलनमाथि भएको दमनको भोलिपल्ट देशव्यापी रूपमा भएको तोडफोड र आगजनीका कारण रामशाहपथस्थित सर्वोच्च अदालत गम्भीर रूपमा क्षतिग्रस्त बनेको थियो। करिब तीन दिनसम्म लागेको आगोका कारण विचाराधीन करिब २० हजार मुद्दाका फाइलहरू जलेका छन् भने फैसला भइसकेका झण्डै एक लाख ९७ हजार फाइलहरू नष्ट भएका छन्।
आगजनीका क्रममा न्यायाधीश र कर्मचारीले प्रयोग गरेका ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन जलेका छन्। साथै अदालत परिसरमा रहेका करिब डेढ सय मोटरसाइकल पनि पूर्णरूपमा नष्ट भएका छन्। त्यसक्रममा अदालतमा आएका सेवाग्राही र कानून व्यवसायीका केही गाडी र मोटरसाइकल पनि जलेको अनुमान गरिएको छ।
सर्वोच्च अदालत मात्रै नभई देशका अन्य अदालतहरूमा समेत भएको आगजनी र तोडफोडमा संलग्नहरूमाथि पनि कारबाहीको माग गर्ने तयारी सर्वोच्च प्रशासनले गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस