जेनजी प्रदर्शनका क्रममा लुटिएको हतियार ज्यान मार्ने उद्योगका फरार अभियुक्तसँग फेला
जेनजी आन्दोलनका क्रममा लुटिएको एक हतियार ज्यान मार्ने उद्योगका फरार प्रतिवादीसँग रहेको खुलेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले काभ्रे घर भई हाल गोकर्णेश्वर नगरपालिका–३ बस्ने २२ वर्षीय राजा भनिने वाङ्सु लामालाई शुक्रबार गौशालाबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
गत भदौ २४ गते लुटिएको ग्यास गन र तीन वटा कार्टिज (गोली) काठमाडौं–७ लाहुरे टोलस्थित एक खाजाघर बाहिर कुर्सीमा झोलाभित्र फेला परेको थियो। त्यही घटनामा संलग्न रहेका वाङ्सु त्यतिबेला फरार रहेका थिए।
सूचनाका आधारमा गरिएको थप अनुसन्धानपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका वाङ्सु प्रहरी वृत्त बौद्धमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी रहेको पाइएको छ। जिल्ला अदालत काठमाडौंले गत साउन ७ गते उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।
वाङ्सु भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस