कैलालीमा छुट्टाछुट्टै दुर्घटनाबाट दुई जनाको मृत्यु, एक घाइते
कैलालीमा सोमबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
घोडाघोडी नगरपालिका–१ स्थित डोडापुल नजिक पूर्व-पश्चिम राजमार्गमा गोरुगाडामा मोटरसाइकल ठोक्किँदा धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाको मृत्यु भएको छ।
प्रहरीका अनुसार राति करिब साढे ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८८ प ५१५६ नम्बरको मोटरसाइकल अम्मरसिंह ऐरले चलाइरहेको गोरुगाडाको पछाडि ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रानाको सुखडस्थित सीएस अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा/उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, टीकापुर नगरपालिका–४ स्थित मौरनियामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५३ वर्षीय लक्षीराम थारूको मृत्यु भएको छ। सोमबार राति १९ वर्षीय आयुष चौधरीले चलाएको से ४ प ६५७९ नम्बरको मोटरसाइकलले पैदलयात्री थारूलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक चौधरीको टाउकोमा चोट लागेको छ र उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस