दुर्गा प्रसाईं पक्राउ पर्नुको कानुनी आधार के छ?
समाजमा उत्तेजना फैलाउने र राज्य संयन्त्रविरुद्ध लगातार अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार, उनलाई पक्राउ गर्नुको तत्कालको मुख्य कारण सोमबार दिउँसो भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले दिएको विवादास्पद अभिव्यक्ति हो।
प्रहरीको मनोबल गिराउने अभिव्यक्ति भक्तपुरको पत्रकार सम्मेलनमा प्रसाईंले भदौ २४ गते नयाँ बानेश्वरमा प्रहरीमाथि भएको दुर्व्यवहार र कुटपिटको घटनालाई जायज ठहर्याउँदै अभिव्यक्ति दिएका थिए।
प्रसाईंले भनेका थिए, "यिनीहरूलाई (प्रहरी) खोलामा खेदी-खेदी त्यत्तिकै कुटेका हुन् त अस्ति? नांगै बनाएर खेदेका थिए नि! यहाँ गेटमा आएर हाम्रो पर्चा पनि लिएर गएछन्। यिनीहरूको महिनाको एक लाख तलब पुर्याउने भनेर म लागेको, यिनीहरूलाई अझै पुगेको छैन।"
प्रहरी अधिकारीहरूका अनुसार, यही अभिव्यक्ति प्रसाईंलाई तत्काल पक्राउ गर्ने 'ट्रिगर प्वाइन्ट' बन्यो। उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गर्दै आए पनि सोमबारको अभिव्यक्तिले सिधै सुरक्षा निकायको मनोबल गिराउने र चेन-अफ-कमान्डमा असर पार्ने जोखिम देखियो।
पक्राउ अपरेसनमा संलग्न एक अधिकारीले भने, "प्रहरीको मनोबल गिराउने र अराजकता फैलाउने उद्देश्यले उनले अभिव्यक्ति दिए। भक्तपुरमा त उनले कोटेश्वरको घटनालाई लक्ष्य गर्दै प्रहरी संगठनविरुद्ध नै उत्तेजक भाषण गरे।"
पक्राउको पूर्वआभास र प्रशासनसँगको संवाद प्रसाईंले आफू पक्राउ पर्ने सुइँको पाइसकेको बताएका थिए। उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेललाई फोन गरेर सोधेको उल्लेख गर्दै भनेका थिए, "काठमाडौंका सिडिओ साबलाई सोधेँ- मलाई पक्रिने खबर के हो? म आउनुपर्छ भने आउँछु भनेँ।"
यद्यपि, उनले सोही पत्रकार सम्मेलनमा नवनियुक्त आइजिपी दानबहादुर कार्कीले प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने तर 'दम' नभएको भन्दै प्रहरी नेतृत्वमाथि पनि आक्षेप लगाएका थिए।
सुरक्षा चुनौती र सरकारको विश्लेषण 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान' का संयोजक प्रसाईंले पछिल्लो समय देश गृहयुद्धमा जान लागेको भन्दै रासनपानी जोहो गर्न आह्वान गरेर जनमानसमा त्रास फैलाउने काम गरिरहेका थिए। सरकारले उनका गतिविधिलाई आसन्न निर्वाचन र शान्ति सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा लिएको थियो।
सरकारले उच्च निगरानीमा राखे पनि प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए, जसले सुरक्षा चुनौती थप्ने आकलन गरिएको थियो।
वार्ता र मागहरू यसअघि सरकारले प्रसाईंलाई वार्तामा बोलाएको थियो। कात्तिक २६ गते गृह मन्त्रालयमा भएको वार्तामा उनी स्वयं उपस्थित नभई आफ्नो समूह पठाएका थिए। उनको समूहले संविधान खारेजी, हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको पुनर्स्थापना, ५ विकास क्षेत्र र १४ अञ्चलसहितको संरचना लगायतका २७ बुँदे माग अघि सारेको थियो।
प्रसाईंको समूहले कात्तिक ३० गते 'माधव कल्पित' को सभापतित्वमा निर्वाचन आयोगमा दल दर्ता समेत गरिसकेको छ।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रसाईंको विषयमा छलफल भए पनि सोमबारको अभिव्यक्तिपछि मात्रै उनलाई राति नै पक्राउ गर्ने निर्णयमा प्रहरी पुगेको हो।
भक्तपुरका एसपीको कमान्डमा अपराध अनुसन्धान कार्यालयको टोली राति १० बजे प्रसाईंको घर पुगेको थियो। विगतमा (२०८१ असोज ६ गते) पक्राउ गर्न जाँदा अवरोध भएपछि भर्याङ प्रयोग गरेर घरभित्र पस्नुपरेको दृष्टान्तलाई मध्यनजर गर्दै यसपटक पनि प्रहरीले तयारी गरेको थियो। तर, प्रहरीले भर्याङ लगाउँदै गर्दा भित्रबाट ढोका खोलिएको थियो।
चौथो पटक हिरासतमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ। दुर्गा प्रसाईं पक्राउ परेको यो चौथो पटक हो:
पहिलो पटक: २०८१ असोज ६ गते (साइबर अपराध मुद्दामा)।
दोस्रो पटक: मंसिर ४ गते (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद अभिव्यक्ति दिएपछि)।
तेस्रो पटक: चैत १५ गते (काठमाडौंको तीनकुने घटना र ज्यान सम्बन्धी कसुरमा, भारतको असमबाट पक्राउ)।
चौथो पटक: हाल (शान्ति सुरक्षा र प्रहरीविरुद्धको अभिव्यक्ति)।
तेस्रो पटक पक्राउ पर्दा उच्च अदालत पाटनले उनलाई २५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस