लामिछानेलाई रुपन्देही ल्याउने तयारी: कास्की अदालतको निर्णयको पर्खाइमा प्रहरी

पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की अदालतको निर्णयको प्रतीक्षा गर्दै आवश्यक रणनीति बनाइरहेको छ।
यदि आज कास्की अदालतले म्याद थप गर्ने निर्णय गरेमा छठपछि बयानका लागि उनलाई रुपन्देही ल्याइनेछ। तर, म्याद नथपिएमा यसअघि रुपन्देहीबाट जारी भएको पक्राउ पुर्जाको आधारमा उनलाई आजै वा भोलि ल्याइने प्रहरीको योजना रहेको छ।
रुपन्देहीका प्रहरी प्रमुख (एसपी) रञ्जित सिंह राठौरका अनुसार, कास्की अदालतको आदेशकै आधारमा छठपछि वा तत्कालै लामिछानेलाई रुपन्देही ल्याउने निर्णय गरिनेछ। "कास्की अदालतले म्याद थपेमा छठपछि ल्याइनेछ, तर नथपेमा यहाँबाट जारी पक्राउ पुर्जीको आधारमा आजै वा भोलि रुपन्देही ल्याउँछौँ," राठौरले बताए।
रवि लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट ऋण लिएको प्रकरणमा सङ्गठित ठगीको आरोप लागेको छ। यसकै कारण, कास्की अदालतले थुनामुक्त गरे पनि रुपन्देही प्रहरीले उनलाई पुनः पक्राउ गर्ने सम्भावना छ, जसले गर्दा लामिछाने तत्काल हिरासतमुक्त नहुने देखिन्छ।
यसअघि, सोही प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशीलाई पनि कास्कीबाट रुपन्देही ल्याएर बयान लिइएको थियो। लामिछानेलाई विमानबाट ल्याएर दुई-तीन दिनमा बयान प्रक्रिया सम्पन्न गर्ने प्रहरीको योजना रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस