सप्तरीको बोदेबरसाईनमा पनि आज रातिबाट अनिश्चितकालीन कर्फ्यू
सप्तरीको बोदेबरसाईन नगरपालिकामा शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति सप्तरीको निर्णयअनुसार बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम उक्त आदेश लागू गरिएको हो।
कर्फ्यू क्षेत्रको सीमाङ्कन
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार कर्फ्यू लागू गरिएका क्षेत्रहरू निम्न स्थानसम्म कायम गरिएको छ ।
पूर्व: हुलाकी राजमार्गस्थित खडक पुल
पश्चिम: प्रितमपुर चोक
उत्तर: नेंगडा चोक
दक्षिण: मानराजा चोक
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले आदेशको उल्लंघन गरी कुनै पनि प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्। प्रशासनले सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाका लागि सहयोग गर्न स्थानीय बासिन्दालाई अपिल गरेको छ।
हाल सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ भने स्थिति नियन्त्रणमा राख्न प्रशासनले निरन्तर निगरानी गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस