Techie IT
२०८२ भाद्र २४, मंगलबार

बोक्सीको आरोपमा ५५ वर्षीया महिलामाथि सामुहिक कुटपिट: कपाल मुण्डन गरी मलमूत्र ख्वाईयो


रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।

गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको छ ।

स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आईतवार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगिता देवी अकस्मात बिरामी परिन् ।

उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भयो ।

संगिता देवीको मृत्युका लागि छिमेकी सुशिला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशिला देवीलाई कुटपिट मात्र होइन, कपाल काटेर मलमूत्र समेत खुवाएका हुन् ।

घटना बारे जानकारी पाउना साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमाण्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो तर, कुटपिटमा संलग्न तीनै जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जना माथी पीडितको तर्फबाट जाहेरी परेको छ। जुन आज दर्ता हुन्छ र कानुन अनुसार कडा कारवाहीको दायरामा ल्याईन्छ।

महिलालाई कुटपिट गरी टाउको मुण्डन गरेपछि मलमूत्र खुवाएको आरोप लागेको छ। कुटपिट गरेको टाउको मुण्डन गरेको त स्पष्ट छ मलमूत्र ख्याएको हो कि होइन त्यस बारे अनुसन्धान भईरहेको डिएसपी कार्कीले न्युज कारखानालाई बताएका छन्। घटना लगतै पीडकहरु सबैजना घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएस्पी कार्कीले जानकारी दिएका छन्।

अवस्थाः सामान्य तर पीडितको मानसिक आघात गहिरो

सामुहिक कुटपिटबाट घाइते भएकी सुशिला देवीको शारीरिक अवस्था सामान्य भएर घरमै रहे पनि मानसिक रूपमा गहिरो आघात पुगेको बताइन्छ ।

यो घटना समाजमा अझै गहिरो जरो गाडेको बोक्सी प्रथा र अन्धविश्वासको प्रत्यक्ष उदाहरण हो । खासगरी महिलालाई लक्षित गरेर हुने यस्ता आरोपहरूले उनीहरुको जीवन, सम्मान र अस्तित्वमाथि गम्भीर प्रहार गर्छ ।

कुनै व्यक्तिको मृत्यु वा आकस्मिक बिरामी परेपछि वैज्ञानिक उपचार वा कारण खोज्नेभन्दा पनि बोक्सी आरोप लगाउने चलन अझै गाउँघरमा देखिन्छ । यस्ता घटनामा अधिकांश पीडित महिला हुने तथ्यले यो प्रथा पितृसत्तात्मक सोच र महिलामाथिको नियन्त्रणको प्रतिफल भएको देखाउँछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट