Techie IT
२०८२ भाद्र ३१, मंगलबार

नेकपा (एमाले) मधेश प्रदेश कमिटीद्वारा संविधान दिवस भव्य रूपमा मनाउने निर्देशन


नेकपा (एमाले) मधेश प्रदेश कमिटीले असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउन सबै जिल्लामा आह्वान गरेको छ।

प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले हस्ताक्षरित निर्देशनपत्रमार्फत संविधान दिवसको ऐतिहासिक महत्व र त्यसको संरक्षणमा दलहरूको भूमिका उल्लेख गर्दै व्यापक सहभागितासहित कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्।

निर्देशनअनुसार, संविधान दिवस २०७२ को ऐतिहासिक पृष्ठभूमि २०६२/०६३ को जनआन्दोलनपश्चात संविधानसभाबाट जारी भएको संविधानले संघीयता, समावेशी लोकतन्त्र र जनसार्वभौमसत्ताको सुनिश्चितता गरेको बताइएको छ।

यसैबीच, भदौ २३–२४ का पछिल्ला राजनीतिक घटनाक्रमले देशलाई असहज परिस्थितितर्फ धकेलेको भन्दै प्रतिगमनकारी षड्यन्त्रविरुद्ध सचेत रहन पनि आग्रह गरिएको छ। एमालेले युवाको चाहनाविपरीत संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने गतिविधि तीव्र भइरहेको भन्दै संविधानको रक्षा गर्न सबैलाई एकजुट हुन अपिल गरेको छ।

प्रदेश कमिटीले संविधान दिवसका कार्यक्रम जिल्ला स्तरमै भव्य रूपमा आयोजना गर्न निर्देशन दिएको छ। अन्य दलसँग सहकार्य सम्भव भए संयुक्त रूपमा, नभए पार्टी कार्यालयमा व्यापक उपस्थितिसहित कार्यक्रम गर्न भनिएको छ। जनसंगठन र स्थानीय तहका कमिटीहरूलाई पनि आ–आफ्नो ठाउँमा कार्यक्रम गर्न निर्देशन दिइएको छ।

कार्यक्रमका फोटो र भिडियोहरू केन्द्र र प्रदेश कार्यालयमा पठाउन अनुरोध गरिएको छ। आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालय वा व्यक्तिगत आवासको विवरण पनि प्रदेश कार्यालयमा पठाउन भनिएको छ।

पार्टीविरुद्ध अभिव्यक्ति दिने वा अवाञ्छित गतिविधिमा संलग्न सदस्यहरूको नाम असोज १ गतेभित्र प्रदेश कार्यालयमा पठाउन स्थानीय इकाइहरूलाई निर्देशन दिइएको छ।

एमालेले संविधानको सम्मान र संरक्षणलाई प्राथमिकता दिँदै, संविधान दिवसलाई जनस्तरसम्म पुर्‍याउने तयारी गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट