वैधानिक रूपमा सरकार बनाओस् भन्ने उद्देश्यले मैले बाटो खुला गरे - जितेन्द्र सोनल
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबारका लागि बोलाइएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनुअघि नै राजीनामाको घोषणा गरेका हुन्।
आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री सोनलले प्रदेशसभामै राजीनामा घोषणा गरेका हुन्। उनले विश्वासको मत लिने वातावरण नै नभएको दाबी गर्दै सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
प्रदेशसभाबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले संघीयतालाई कमजोर पार्ने खेल भइरहेको आभास भएकाले राजीनामा दिएको बताए। उनका शब्दमा, “सत्ता पक्षका सांसदहरू कोही केही बेरका लागि बाहिर गएका थिए, कोही खाजा खान निस्किएका थिए। मैले सभामुखलाई आधा घण्टा रोकेर वातावरण बनाउन आग्रह गरेँ, तर पटक–पटक घण्टी बजाइ रहँदा म राजीनामाको निर्णयमा पुगेँ।”
उनले संघीयता समाप्त पार्ने प्रयास भइरहेको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य–मान्यताप्रति बेवास्ता गर्नेहरू प्रदेशसभा विघटनतर्फ लागिपरेको टिप्पणी गरे।
मुख्यमन्त्री सोनलले आगामी राजनीतिक परिस्थितिबारे संकेत गर्दै भने, “अब जुन पक्षले बहुमत पुर्याउँछ, उसले वैधानिक रूपमा सरकार बनाओस् भन्ने उद्देश्यले मैले बाटो खुला गरेको हुँ।”



तपाईको प्रतिक्रिया दिनुहोस