अचम्मैको घटना, परीक्षणका लागि राखिएको शव अर्कैले लगेर गरे अन्त्येष्टि
लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको एक किशोरीको शव अर्कै परिवारलाई बुझाइएपछि गम्भीर लापरबाही सार्वजनिक भएको छ। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव ‘पोष्टमार्टम’का लागि अस्पतालमा राखिएको थियो । तर अस्पतालले झुक्किएर अर्कै परिवारलाई शव बुझाएको खुलेको छ।
गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो। रोजगारीको सिलसिलामा दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर पाउनासाथ नेपाल फर्किएका थिए। आज बिहान अन्तिम संस्कारका लागि अस्पताल पुगेका उनीहरूले शव नै फेला पार्न सकेनन्।
अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की समान उमेरकी किशोरीको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लगेर अन्त्येष्टिसमेत गरिसकेको तथ्य बाहिर आएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव राख्दा ‘कोडिङ’ नगरिएकै कारण कर्मचारीबाट गम्भीर त्रुटि भएको स्वीकार गरेका छन्। ‘यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो। छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ,’ उनले बताए।
छोरीको अन्तिम पटक मुखसमेत देख्न नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भएका छन्। उनले भने, ‘छोरीलाई जोगाउन सकिएन। सास हुँदा पनि देख्न पाइएन। कम्तीमा लास त हेर्न पाइएला भनेर परदेशबाट फर्कियौँ, तर अस्पतालको लापरबाहीले त्यो पनि सम्भव भएन।’
घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। त्यसक्रममा पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गर्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरेका छन्।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकारवाला पक्षबीच वार्ताको तयारी भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस