महाकालीमा २४ जना तुइनबाट बग्दा पनि बनेन पुल

दार्चुलाको व्याँस गाउँपालिका–२, तल्ला दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर मंगलबारदेखि बेपत्ता भएका छन्।
सामान किन्न सदरमुकामतर्फ जाँदै गरेका उनी तुइन चुँडिएपछि नदीमा खसेका हुन्। बर्खायामको कारण महाकाली नदी निकै फैलिरहेकोले उनको खोजी कार्यमा कठिनाइ भइरहेको छ।
स्थानीयका अनुसार, दुम्लिङ्गबाट भारत तर्फ महाकाली तर्ने झोलुंगे पुल टाढा भएकाले अधिकांशले छोटो बाटो रोज्दै तुइन प्रयोग गर्ने गरेका छन्। तुइनबाट पारि भारत पुगेर त्यसपछि दार्चुलाको सदरमुकाम खलंगा पुग्ने उनीहरूको बाध्यता छ ।
तर यही तुइन यति घातक बनेको छ कि अहिले सम्म व्याँस गाउँपालिका–२ मा मात्रै २०४९ साल यता २४ जनाको ज्यान तुइन तर्दै गर्दा गइसकेको तथ्यांकले देखाएको छ ।
पाँच वर्षअघि साउन १५ गते, जयसिंह धामी पनि यस्तै घटनामा महाकालीमा बेपत्ता भएका थिए। स्थानीयका अनुसार उनलाई भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकालीमा खसालेका थिए।
त्यस घटनाले राष्ट्रिय चर्चा पाएको थियो, तर स्थायी समाधान अहिलेसम्म आएको छैन। दुम्लिङ्गका बासिन्दाले पटक–पटक सरकारसँग पुल र सुरक्षित बाटोको माग गरेता पनि आजसम्म उनीहरू भारतीय भूमि हुँदै नागरिकता लिन लगायतका कामका लागि सदरमुकाम जान बाध्य छन्।
भारतको धारचुला, गर्बाधार, थाइलेकजस्ता स्थान हुँदै नेपालकै नागरिक आफ्नो स्वास्थ्य उपचार, सामान किनमेल वा सरकारी सेवा लिन जानुपर्ने अवस्था छ।
त्यति मात्र होइन, स्थानीय स्वास्थ्य चौकीमा सेवा, औषधि र जनशक्ति नहुँदा बिरामी, सुत्केरी, घाइते सबैलाई बोकेर भारतको बाटो हुँदै नेपालकै सदरमुकाम ल्याउनुपर्छ। केही वर्षअघि चनु बुढाथोकी नामकी महिलाले सुत्केरी हुन भारतको बाटो भएर तुइन पार गरेर सदरमुकाम आउनुपरेको थियो। उनले छोरीलाई जिपमै जन्म दिएकी थिइन्।
नेपाल सरकारको तर्फबाट तिंकर सडक निर्माणको प्रयास भए पनि गति अत्यन्तै ढिलो छ। यो सडक बन्यो भने दार्चुलाका नागरिकलाई तुइन प्रयोग गरेर ज्यानको जोखीममा यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ।
तर अहिलेसम्म सडकका केही खण्ड मात्र खुलेका छन्, धेरैजसो ठाउँ चट्टान, पहिरो र सरकारी बेवास्ताका कारण रोकिएको छ।
कालागाड, हिकिला, हुतीजस्ता स्थान हुँदै सदरमुकाम आउन सकिए पनि त्यो यात्रा लामो, खर्चिलो र जोखिमपूर्ण छ। त्यही भएर स्थानीयको एउटै माग छ— “अब त तुइन होइन, सुरक्षित पुल चाहिन्छ । हामी नेपाली हौं, हाम्रो हकमा विकास र सुरक्षाको प्रत्याभूति सरकारबाट हुनैपर्छ।”
तपाईको प्रतिक्रिया दिनुहोस