वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन
मधेस आन्दोलन र भारतीय अघोषित नाकाबन्दीको समयमा वीरगञ्जका दुई भन्सार नाकामा भएको धर्ना तथा नाकाबन्दीले आयातमा ठूलो गिरावट आएको थियो। आव २०७२/७३ मा वीरगञ्ज भन्सारको आयात ३५ प्रतिशतले घटेको थियो। त्यो वर्ष नेपालमा ७ खर्ब ७४ अर्ब ७१ करोड रुपैयाँको सामान आयात भएकोमा वीरगञ्ज भन्सारको हिस्सा २३.५० प्रतिशत र सुक्खा बन्दरगाहको १२.२३ प्रतिशत मात्र रह्यो।
नाकाबन्दीका कारण धेरै आयात भैरहवा भन्सारतर्फ सरेको थियो, जहाँ २४.०७ प्रतिशत आयात भएको थियो। संविधान जारी भएपछि वीरगञ्ज भन्सार पुनः सक्रिय हुँदै, आव २०७३/७४ देखि कुल आयातको महत्वपूर्ण हिस्सा ओगट्न थालेको छ। आव २०८०/८१ मा वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाहबाट क्रमशः ३४.३० र १२.७८ प्रतिशत आयात भएको देखिन्छ।
तर, मधेस आन्दोलन र कोभिड–१९ महामारीपछि वीरगञ्जमा उद्योग र व्यापारको सुधारमा चुनौती देखा परेको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतमले आन्दोलन र महामारीपछि उद्योगी र व्यवसायी पुनः सक्रिय नभएको र केही उद्योगहरू बारा र हेटौँडा सर्दै गएको बताउनु भयो।
नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष कुमार टेमानीका अनुसार, कोभिड–१९ पछि राष्ट्र बैंकको नीति र अर्थतन्त्रमा देखिएका चुनौतीका कारण उद्योगहरू अझै पुरानै लयमा फर्किन सकेका छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस