Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल


Photo: RSS

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताएका छन् ।

माओवादी केन्द्रको वाग्मती प्रदेश समिति, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशले आज  काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा खबरदारी सभामा आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गरेका थिए । 

प्रचण्डले आफ्नो सरकार भएका बेला विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गरेका थिए । पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुने बताए । 

आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उनले पहिलो पार्टी भएर देखाउने दाबी गरे । विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उनले बताएका थिए ।

उत्पादन अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने र युवालाई रोजगारी प्रदान गर्ने बताउँदै अध्यक्ष दाहालले निर्वाचन प्रणालीका कारण अनियमितता बढेको हो बताएका थिए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै मुलुकका लागि ग्राह्य भएको बताए । सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्नेमा उनको जोड थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको महान् अभियान पूरा भएकाले आर्थिक विकासको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनले मजदुर र किसान वर्गको हितका खातिर नयाँ विशेषतासहितको समाजवादको आधार तयार पार्न पार्टीले विशेष प्रयास थालेको बताए । 

आफ्नो पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले देश र जनताका पक्षमा दूरगामी महत्वका काम गरेको विवरण पनि उनले सार्वजनिक गरे। केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितमान शाक्य, यशोदा सुवेदी, दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत सिर्पाली, पूर्वमन्त्री रामेश्वर राययादव, परशुराम तामाङलगायत वक्ताले माओवादी केन्द्र सशक्त रुपमा अगाडि बढ्ने बताएका थिए ।

आमसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । त्यसअघि राजधानीको सुन्धार बाट वृहत जुलुस बागबजार हुदै पुतलीसडक बाट पद्मोदय मोट बाट प्रदर्शनी मार्गमा खबरदारी सभामा  परिणत भएको थियो । प्रदर्शनमा १५ हजार जतिको उपस्थित रहेको अनुमान गरिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट