अन्तिम दिन सम्म पनि भीम रावलले बुझाएनन् स्पष्टीकरण
नेकपा एमालेका नेता भीम रावलले पार्टीले सोधेको स्पष्टीकरण पत्र बुझाइनसकेको बताएका छन्।
पार्टीले ७ दिनको म्याद दिएर सोधेको स्पष्टीकरण पत्रको जवाफ बुझाउने अन्तिम दिन सोमबार थियो, तर रावलले अझैसम्म पार्टी कार्यालयमा कुनै जवाफ पठाएका छैनन्।
सोमबार दिउँसो ४ बजेसम्म रावलले आफूले स्पष्टीकरण बुझाइसकेको छैन र अध्ययनमा मात्र रहेको जानकारी दिए। उनले भने, “म यो विषयमा अध्ययनमै छु। बुझाइसकेको छैन।”
व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गर्नका लागि जग्गा दान दिएको विषयमा नकारात्मक टिप्पणी गरेपछि, एमाले सचिवालय बैठकको निर्णयअनुसार कात्तिक ६ गते रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण दिनका लागि ७ दिनको म्याद दिइएको छ।
महासचिव शंकर पोखरेलले यस सम्बन्धमा पत्राचार गरेका थिए। यो स्पष्टीकरणको जवाफ भने पाण्डे र तिम्सेनाले बुझाइसकेका छन्।
यस घटनाले पार्टीको आन्तरिक विवाद र नेतृत्वको जिम्मेवारीको सवाललाई पुनः चर्चामा ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस