बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न कुनै पनि व्यक्तिलाई कारवाही गरिनु आवश्यक रहेको र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ भन्ने कुरामा जोड दिएका छन्।
आज पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “दोषी कसैले उन्मुक्ति पाउनुपर्दैन र निर्दोष कोही पनि नफस्नुपर्छ। राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि काम हुनुहुँदैन। सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ।”
अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले हाल कुनै अन्य पार्टीसँग मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको जानकारी दिए। उनले भने, “विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान हामी तयार छौं। विषयवस्तुमा सहकार्य गरेर अघि बढ्न हामी तयार छौँ, तर अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन।”



तपाईको प्रतिक्रिया दिनुहोस