एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, लुम्बिनी लायन्स २ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले आफ्नो पहिलो जित दर्ता गर्दै लुम्बिनी लायन्सलाई २ विकेटले हराएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १९२ रनको चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
विराटनगरका लागि लोकेश बम खेलका नायक बने। उनले ४७ बलमा ७१ रनको आक्रमक पारी खेले, जसमा ६ छक्का र ३ चौका समावेश थियो। उनलाई बसिर अहमदले ४० रनको महत्वपूर्ण साथ दिए भने मार्टिन गप्टिलले २८ रन बनाए।
लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४६ रनको उत्कृष्ट पारी खेले। टम मुर्सले ३० रन बनाउँदा अर्जुन साउदले १७ रन थपेका थिए।
बलिङतर्फ विराटनगरका रामोन सिमन्ड्स, साद बिन जफर र दुर्गेश थापाले २–२ विकेट लिएका थिए।
विराटनगरले यसअघि जनकपुर बोल्ट्स र सुदूरपश्चिमसँग पराजय भोगेपछि तेस्रो खेलमा आफ्नो पहिलो जित निकाल्न सफल भएको हो। यो जितले विराटनगरलाई प्रतियोगितामा नयाँ ऊर्जा प्रदान गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस